
काठमाडौँ, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कैलालीको टीकापुर गएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।
उनले सोमबार बिहान ट्विटरमार्फत् समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका भट्टराईले टीकापुरमा दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।
नेता रावलले भट्टराईको अभिव्यक्ति युट्युबमार्फत् सुनेको उल्लेख गर्दै मन्तव्यलाई उत्तेजनापूर्ण, सामाजिक सद्भाव बिथोल्ने, विभाजनकारी, षड्यन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार भनेका छन् ।
‘कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’, रावलले प्रश्न गरेका छन् ।
भदौ ७ गते टीकापुरमा आयोजित ‘थरूहट–थारूवान राष्ट्रिय सम्मेलन’ मा भट्टराईले राष्ट्रिय जनता पार्टी, नेपालका नेता रेशम चौधरीमाथि लागेको मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका थिए ।
यस्तै, उनले थारू र खस दुवैले आपसमा नभएर काठमाडौंका शासकसँग लड्नुपर्ने सुझाव मन्तव्यका क्रममा दिएका थिए ।
चार वर्षअघि टीकापुरमा एक बालकसहित ९ जना प्रहरीको हत्या भएको थियो । साेही मुद्धामा रेशम चाैधरी अहिले जेलमा छन् ।
भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !
— Bhim Rawal (@BhimRawal179) August 26, 2019















प्रतिक्रिया