६ कार्तिक २०८३, शुक्रबार

के मिर्गौला प्रत्यारोपण गर्दैछन् त प्रधानमन्त्री ? 

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । बीचका १० दिनमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिन ज्वरोका कारणले आराममा पुगे र बाँकी दिन उनको अनुहारमा चमक थियो । त्यो चमकसँगै उनका केही आश्चर्यलाग्दा र आशावादी बयान आए ।

‘डाक्टरले अझै १५/२० बर्ष बाँच्छस् भनेका छन् ।’

‘केही मान्छे यो चाँडै मर्छ भनी हल्ला गरेर हिँडेका छन् ।’

उनी बिमार भएको खबर सुन्नासाथ कतिपय सांसद र पार्टीका नेता कार्यकर्ता उनलाई भेट गर्न पुगेका थिए । सो क्रममा पनि प्रधानमन्त्रीको माथि उल्लेखित भनाई थिए । केही कार्यक्रमका दौरानमा पनि यस्तै अभिव्यक्ति दिए ।

तर प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य प्रकरणका टिप्पणीभन्दा बाहिर छन् त ? अथवा उनको स्वास्थ्यमा केही गडबडी छ ? सतहमा खासै जानकारी छैन । उनकी नीजि चिकित्सक डा. दिव्या सिंह, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले उनको स्वास्थ्य राम्रो रहेको दाबी गर्दै आएका छन् ।

यद्यपि, विहीबार प्रधानमन्त्री ओली पुनः उपचारका लागि सिंगापुर उडेका छन् । पत्नी राधिका शाक्य, रिमाल र डाक्टर सिंहलगायत उनीसँग छन् ।

१० दिनमै सिंगापुरमा फलोअप चेकअपका लागि उडेका हुन् या कुनै खास बिमार बाँकी नै छ ? यसबारेको सूचना प्रधानमन्त्रीको परिवार, सचिवालय अथवा कार्यालयले दिएको छैन, जसका कारण उनको स्वास्थ्यबारेका शंसय त छँदै छ, अनेक अनुमानका विवरण पनि बाहिर आएका देखिन्छन् ।

खासगरी दुई पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको तेस्रो पटक पनि मिर्गौला प्रत्यारोपणको तयारी भएको भन्ने ‘अनुमानमा आधारित हल्ला’ सतहमा आएको छ । यसबारे सर्वसाधारण नागरिकले जानकारी पाउन सकेका छैनन् ।

यो संशयलाई बलपुग्नेगरी बीबीसीको नेपाली संस्करणले जानकारहरूलाई उदृत गर्दै मिर्गौला प्रत्यारोपण अथवा औषधि प्रयोग गरेर पनि टिक्न सकिने सिंगापुरका डाक्टरहरूको सल्लाह प्रधानमन्त्रीलाई रहेको भन्ने लेखेको छ ।

‘एउटा मिर्गौलाको काम भरथेग गर्ने औषधिले कतिन्जेल धान्छ त्यसमा बस्ने, अर्कोचाहिँ मिर्गौला प्रत्यारोपण गर्ने सम्भावना पनि छ ।’

कतिपयले प्रधानमन्त्री ओलीको यस पटकको सिंगापुर बसाईमा मिर्गौला प्रत्यारोपणको तयारी भएको समेत उल्लेख गरेका छन् । तर, यसबारे सर्वसाधारणसम्मलाई जानकारी हुनेगरी कुनै सूचनाचाहिँ दिइएको छैन ।

यसै सन्दर्भतिर संकेत गर्दै बीबीसी नेपाली सेवा लेख्छ– मिर्गौलाले काम गर्न छोड्नु सामान्य कुरा होइन । त्यसमाथि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आउनु र दोस्रो प्रत्यारोपणको कुरा गरिनु ओलीको उमेरका मानिसका लागि साधारण वा सामान्य स्वास्थ्यको कुरा हैन । उनी अहिले ६८ वर्षमा छन् ।’

स्वास्थ्य गडबड हुन सक्छ तर त्यसलाई प्रधानमन्त्री र प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भन्न नचाहनु या कतिपयका शब्दमा ‘सपाट झुठ’ बोल्नुलाई धेरैले सामान्य अर्थमा लिन सकेको देखिन्न ।

के औषधि दिइयो, त्यसले के काम गर्छ ? दोस्रो प्रत्यारोपणका लागि मिर्गौलाको व्यवस्था कसरी गरिँदै छ ? जस्ता विस्तृत विवरण खुलाउन आवश्यक नहोला । तर प्रधानमन्त्रीको मिर्गौलामा समस्या आएको छ उपचार गर्नुपर्नेछ भन्ने जानकारी पाउने हक नागरिकको हुने जानकारहरू बताउँछन् ।