
काठमाडौँ, ५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो तहका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले पार्टी बैठकको अध्यक्षता गर्ने पाउने भएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो सहमति भएको हो । ओली आजै उपचारका लागि सिंगापुर जाँदैछन् । उनी कम्तिमा एक साता उतै रहने छन् ।
नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर, बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका छन् ।
सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
आजको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।















प्रतिक्रिया