काठमाडौं, २४ साउन । उपत्यकाभित्रकै स्थानीय तहहरूले हाजिर नगराएपछि समायोजन रोजेका १ सय २० निजामती कर्मचारी बेवारिस बनेका छन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारीलाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् ।
समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरूले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे ।
कर्मचारीले नाराजुलुस थालेपछि सहसचिव रुद्रसिंह तामाङले विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए तर उधारो प्रतिबद्धता भन्दै कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । मन्त्रालय र स्थानीय तहबीचको विवादले आफूहरू अन्योलमा परेको कर्मचारीको दुःखेसो छ ।
समायोजन समस्या समाधानका लागि सहसचिव बाबुराम अधिकारी र आन्दोलनरत कर्मचारीबीच वार्ता भए पनि कुरा नमिलेको आन्दोलनमा सहभागीमध्येका छैटौं तहका कर्मचारी कमलनाथ ढकालले बताए ।
आन्दोलित कर्मचारीलाई आइतबार पुनः वार्ता गर्न डाकिएको छ । ‘मन्त्रालयले तपाईंहरूले समायोजन रोजेको ठाउँमा हाजिर गराउन नसक्ने भयौं भन्यो,’ ढकालले भने, ‘हामी समायोजन रोजेकै ठाउँमा जान पाउनुपर्छ ।’
भीमेश्वर नगरपालिका (दोलखा) का मेयरसमेत रहेका नेपाल नगरपालिका संघ ३ नम्बर प्रदेश संयोजक भरतबहादुर केसीले मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारी पठाएका कारण हाजिर गराउन कठिन भएको बताए ।
‘दरबन्दीभन्दा बढी कर्मचारीलाई मात्रै फिर्ता पठाइएको हो,’ उनले भने, ‘दरबन्दी नै नभएको ठाउँमा कर्मचारी पठाउनु मन्त्रालयको कमजोरी हो, यसमा स्थानीय तहको कमजोरी छैन ।’















प्रतिक्रिया