६ कार्तिक २०८३, शुक्रबार

किर्ते सही गरी कार्यालयको ९३ लाख झिकेर कर्मचारी फरार

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २१ साउन । प्रावीधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी रकम झिकेर फरार भएका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

सिटीईभीटीले धनुषाको सपहीमा सञ्चालन गरेको बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी जिल्लाको महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर किर्ते सहीछाप गरी बैंकबाट ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् ।

ठाकुरले विभिन्न मितिमा बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ६२ लाख ५६ हजार र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैयाँ किर्ते गरी झिकेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ ।

ठाकुरले रकम झिकेको थाहा पाएपछि उनी विरुद्ध मुद्दा दर्ता गराएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश २ का कामु निर्देशक नागेन्द्र साहले बताए ।

सूचना प्रविधिमा राम्रो दखल राखेका ठाकुरले कार्यालयको कामकाज प्रभावित गर्नुका साथै कर्मचारीलाई उल्टै धाकधम्की समेत दिँदैआएको बताइएको छ ।

उनको गतिविधि शंकास्पद हुँदैगएपछि छानविन गर्दा उनले रकम झिकेको बुझ्न आएको साहले बताए । साउन १२ गते नै किर्ते मुद्दा दर्ता भएपछि स्थानीय प्रशासनले बैंक खाता रोक्का गरे पनि प्रविणलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

प्रविणको नाममा जनकपुरस्थित सहयोगी विकास बैंक र राष्ट्रिय बाणिज्य बंैकमा ६८ लाख भन्दा बढी बंैक मौज्दात रहेको र अन्य रकम गाडी खरिद लगायतमा खर्चेको सिटिईभीटीका कर्मचारीहरुको भनाइ छ ।

यस विषयमा सिटीईभीटी केन्द्रीय कार्यालयका निर्देशक मणि भट्टराईको नेतृत्वको एक टोलीले समेत स्थलगत निरीक्षण गरी छानविन सुरु गरेको छ ।