काठमाडाैं, २० साउन । सत्तामा रहेको नेकपा निकट विद्यार्थी संगठन अखिल अझै संगठनविहीन छ । उसले अझै पूर्णता पाउन सकेको छैन । राजधानी दैनिकले खबर छापेकाे छ ।
पार्टीले संयोजकको नाम तोके पनि कमिटी स्थानीय क्याम्पससम्म पुग्न सकेको छैन । नेकपा निकट अनेरास्ववियुका विद्यार्थी नेता रश्मी आचार्यले सरकारी तवरबाटै नीति कार्यान्वयन हुन नसकेको बताए ।
अर्का नेता सुरेन्द्र बस्नेतले विद्यार्थी एकता प्रक्रिया नटुंगिँदासम्म काम गर्न समस्या भएको बताए । उनले भने, ‘एकता प्रक्रिया टुंगिएपछि विद्यार्थीको हकहितका लागि आन्दोलनको घोषणा गर्छौं । अबको लडाइँ शिक्षा निःशुल्क बनाउने नीति कार्यान्वयनको लडाइँ हो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेविसंघ पनि विघटन भएपश्चात् संगठनात्मक रूपमा पूर्ण बन्न सकेको छैन । उसले पनि विद्यार्थीका एजेन्डा नपक्रिँदा विद्यार्थीमा नैराश्य सिर्जना हुन थालेको छ ।
नेवि संघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई उपयोग गर्दै आएको बताए । उनले भने, ‘यो बेला विद्यार्थी आन्दोलन जुमुराउने बेला हो । कमजोर व्यक्तिको हातमा विद्यार्थी राजनीति हुँदा समस्या बढेर गएको छ ।’
अखिल क्रान्तिकारी शिक्षा क्षेत्रको विसंगति रोक्न लागिपरेको बताएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विद्यार्थी संगठन सुस्ताएको स्वीकार्दै आफूहरू संगठनलाई नयाँ गति दिने तयारीमा लागेको बताए ।















प्रतिक्रिया