६ कार्तिक २०८३, शुक्रबार

सचिव हुने तयारीमा रहेका सहसचिवहरूलाई प्रदेश पठाउने तयारी

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९साउन । सरकारले प्रदेश मातहतका मन्त्रालयमा संघमा कार्यरत सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउने तयारी गरेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार यस विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णयको तयारी भइरहेको छ । मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल सुरु भएको स्रोतले जानकारी दिएको छ । हाल केन्द्रका कनिष्ट सहसचिवलाई प्रदेशमा सचिवका रूपमा पठाउने गरिएको छ ।

स्रोतका अनुसार सरकारले सातै प्रदेशमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ४९ वटा मन्त्रालयमा केन्द्रका वरिष्ठ सहसचिवहरूलाई पठाउने तयारी गरेको हो ।

हाल प्रदेशको मन्त्रालयमा कार्यरत कनिष्ठ सहसचिवहरूलाई फिर्ता बोलाएर सोही स्थानमा सचिव हुने लाइनमा पुगेका वरिष्ठ सहसचिवलाई सचिवको जिम्मेवारीमा पठाउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रदेशलाई सशक्त बनाउन अनुभवी सहसचिवहरूको आवश्यकता माग भएपछि सरकारले यस्तो निर्णय लिन लागेको हो । तर, संघमा रहेका सहसचिवहरूले भने संघका वरिष्ठ सहसचिवलाई छानीछानी प्रदेशमा पठाउँदा संघीय सरकार कमजोर हुने र संस्थागत मेमोरी नै नष्ट हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संघीय (केन्द्रीय) सरकार नै विभिन्न समस्यामा रहेकाले समाधान हुनुपर्ने तथा केन्द्र नै सशक्त बन्न नसकिरहेको अवस्थामा वरिष्ठ सहसचिवलाई एकसाथ सरुवा गर्दा काम कारबाही प्रभावित हुन सक्ने ती सहसचिवहरूको गुनासो छ ।

केन्द्रका वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाउँदा केन्द्रमा २४ घ बाट बढुवा भएका सहसचिवहरू धेरै रहन सक्ने र उनीहरूबाट राम्रो कार्यसम्पादन हुन नसक्ने गुनासो केही सहसचिवको छ ।

सरकारले वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउने नीति लिए पनि सो नीतिअनुसार सहसचिव पठाउँदा अनुहार हेरेर विभेद हुन सक्ने देखिएको छ ।