६ कार्तिक २०८३, शुक्रबार

संक्रमणकालीन न्याय राजनीतिक दलहरूको बन्धनमा अल्झँदै, आयोगमा पदाधिकारी नियुक्तिमै सकस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कसले नेतृत्व गर्ने भन्ने विषयमा दलबीच भागबन्डा नमिल्दा अन्योल वढेको छ ।

दुई आयोगको म्याद सकिएको झन्डै ६ महिना पुग्दासम्म पूर्णता पाउन सकेको छैन । राजधानी दैनिकले समाचार छापेकाे छ ।

नेकपा र नेपाली कांग्रेसबीच मतभेदका कारण अझै केही समय दुई आयोगको पूर्णता नपाउने सम्भावना देखिएको छ । केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई सत्यनिरुपण आयोगको अध्यक्ष बनाउने गरी सहमति खोज्न खोज्दा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले मानेनन् ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई सत्यनिरुपण आयोगको अध्यक्ष बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति राखेपछि एक साताअघिदेखि दुई आयोगको पदाधिकारी नियुक्ति प्रक्रियाको काम रोकिएको छ ।

संक्रमणकालीन न्यायको विधि तय हुन नसक्दा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा तीन महिनाअघि गठित समिति ‘रबर स्टयाम्ब’जस्तो बनेको छ ।

शान्ति प्रक्रियालाई नेपालले आफ्नै विधि र प्रक्रियामा टुंग्याउने विषयमा निचोडमा दलहरु पुग्न नसकिरहेका बेला चार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा शान्ति प्रक्रिया विफल भएको भन्दै विज्ञप्ति निकाले । राष्ट्रसंघ, युरोपियन युनियनलगायतले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको भनी आलोचना गरे ।

केही समयअघि एमनेस्टि इन्टरनेसनलसहित चार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विज्ञप्ति निकालेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँडेर नेतालाई हेगमा पु-याउने षडयन्त्र भइरहेको बताएका थिए ।

प्रचण्डको बुझाइमा एकैपटक चार अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति निकालेर नेपाल शान्ति प्रक्रियामा असफल भयो भन्नुमा नेपाललाई पुनः शान्ति हुन नदिनका लागि विदेशी नियोग लागिरहेका छन् ।

पीडित भन्छन्, ‘न्याय पाउने आशा नै मरिसक्यो ।’ तर, यता सशस्त्र द्वन्द्वका पीडितले भने नेपालका राजनीतिक दलको अर्कमण्यताका कारण आफूहरूले न्याय नपाएको बताउँछन् ।

‘यति लामो समयसम्म हामीले न्याय नपाउनुमा राजनीतिक दलहरूकै हात छ,’ द्धन्द्धपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी भन्छन्, ‘पीडितहरूलाई गलाउने, थकाउने र अन्तिममा सहमति खोजेर शान्ति प्रक्रिया टुंग्याउने खोजे त्यो राजनीतिक दलका लागि दुर्भाग्य हुनेछ ।’

१५ वर्षसम्म पनि न्याय नपाउनु भनेको न्याय नदिनु सरह भएको पीडितको बुझाइ छ । पीडितलाई न्याय दिनुभन्दा पनि आयोगलाई जागिर खाने थलो बनाउन मात्रै खोजेको पीडित बताउँछन् ।

मुख्य काम मिलेर सम्पन्न गरेका कांग्रेस र कम्युनिस्ट पार्टीबीच दूरी बढेसँगै शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायिक प्रक्रिया धरापमा पर्न सक्ने जोखिम छ ।

यस्तो जोखिम यो प्रक्रियामा अहिले मुखरित भएको अन्तर्राष्ट्रिय चासो र ‘संक्रमणकालीन न्यायिक संयन्त्र’ का रूपमा रहेका आयोगको समयावधि सकिनु र पदाधिकारी सिफारिस गर्न नसक्नुले दबाब सिर्जना गरेको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र)को सहकार्यबाटै विगतमा माओवादी जनमुक्ति सेना समायोजन, हतियार व्यवस्थापन, अन्तरिम संविधान निर्माण र अन्तरिम व्यवस्थापिका गठन हुँदै संविधानसभाको निर्वाचन र त्यसमार्फत नयाँ संविधान जारी गर्नेजस्ता शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न भइसकेका छन् ।