काठमाडौं, १८ साउन । सहरमा मात्र हैन, ग्रामीण भेगका लाखौं घर अझै भूकम्पको जोखिममा छन् । ती घरलाई नभत्काई प्रबलीकरणमार्फत नै भूकम्पीय जोखिम कम गर्न सकिने भएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलीकरणमार्फत नै लाखौं घर जोगाउन सकिने जनाएको हो । प्राधिकरणले देशभरका लाखौं घरलाई भूकम्पबाट बचाउन प्रबलीकरण अभियानमा जोड्ने नीति अवलम्बन गर्ने प्रयाससमेत गरेको छ ।
प्राधिकरणले केही दिनअघि ग्रामीण क्षेत्रका असुरक्षित घरको भूकम्पीय जोखिमरहित प्रबलीकरणबारे कार्यशाला गोष्ठी गरेको थियो ।
गोष्ठीमा भूकम्पपछिको पुनर्निर्माणका क्रममा प्रबलीकरण कार्यमा जोडिएका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो भने प्रबलीकरणमा देखिएका विभिन्न विषय तथा लाभग्राहीलाई प्रबलीकरणतर्फ अग्रसर गराउने उपायबारे छलफल भएको थियो । उक्त गोष्ठीले प्रबलीकरणमार्फत लाखौं घरलाई भूकम्पबाट बचाउन सकिने निष्कर्ष निकालेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरण अभियान सफल भए देशभरका लाखौं घर सुरक्षित हुने जनाएका छन् ।
‘प्रबलीकरण अभियान सफल हुँदा भूकम्पबाट क्षति भएका ७० हजार घर मात्र नभएर पूर्वदेखि पश्चिमसम्मका लाखौं घरलाई भूकम्पीय जोखिमरहित बनाउन प्रबलीकरणतर्फ अभिमुख गर्न सकिन्छ,’ उनले भने ।
प्राधिकरणले सिंहदरबारको मुख्य भवनलाई ८.८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्ने गरी पुनर्निर्माणअन्तर्गत प्रबलीकरणको काम गरिरहेको छ ।
प्राधिकरणले सुरुमा भवनको पुननिर्माण नै गर्ने तयारी गरे पनि पछिल्लो समय भवन निर्माणका लागि प्रबलीकरणको काम गरिरहेको छ ।
प्राधिकरणले पछिल्लो समय भूकम्पबाट क्षति भएका घर मात्र नभएर अन्य घरको पनि प्रबलीकरण गरेर भूकम्पीय जोखिमरहित बनाउनेमा जोड दिएको हो ।
गोष्ठीमा पुनर्निर्माण तथा प्रबलीकरणमा सक्रिय रहेका विकास साझेदार संस्था यूएनडीपी, एनसेट–नेपाल तथा बिल्ड चेन्जका तर्फबाट विभिन्न भूकम्प प्रभावित जिल्लामा प्रबलीकरण गर्दा प्राप्त भएका अनुभव, चुनौती तथा आगामी योजनाका बारेमा छलफल र समीक्षा भएको थियो भने दोस्रो सत्रमा सहभागीलाई चार भागमा विभाजन गरी छलफल सम्पन्न गरिएको थियो ।
नीतिगत सुधार, प्राविधिक पुनरावलोकन, संस्थागत सुधार तथा सञ्चार रणनीति चारवटा विषयमा छलफल भएको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवालीले छलफलमा उठेका विभिन्न नीतिगत तथा संस्थागत सुधारका सुझाव कार्यान्वयन गर्न ध्यान दिने बताएका छन् ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले केही दिनअघि मात्र विद्यालय पुनर्निर्माणका क्रममा अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।















प्रतिक्रिया