६ कार्तिक २०८३, शुक्रबार

जिल्लाले फर्काए नयाँ शिक्षक

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । जिल्ला पठाइएका नयाँ शिक्षक हाजिर हुने विद्यालय नपाएपछि केन्द्रमै फर्किन थालेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

शिक्षक सेवा आयोग र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रबीच समन्वय नहुँदा नयाँको पदस्थापनमा समस्या देखिएको छ। केन्द्रले जिल्लामा आवश्यकभन्दा बढी शिक्षक पठाएपछि उनीहरू फिर्ता भएका हुन्।

आयोगले दुई महिनाअघि सिफारिस गरेका १ हजार ९७ शिक्षकलाई केन्द्रले सम्बन्धित जिल्लामा खटाएको थियो। सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई आवश्यक परेको विद्यालयमा हाजिर गराउन केन्द्रले भनेको थियो। जिल्लाभित्रका विद्यालयमा दरबन्दी रिक्त नरहेको लिखित जानकारी इकाइले गराएको छ।

२५ जिल्लाबाट शिक्षक फिर्ता भएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए। उनका अनुसार ती जिल्लामा गोरखा, कालिकोट, ओखलढुंगा, नवलपरासी, दाङ, सल्यान, कपिलवस्तु, संखुवासभा, अछाम, पाल्पा, तनहुँ, कैलाली, धादिङ, बैतडी, कञ्चनपुर, मुस्ताङ, बर्दिया, पर्वत, प्युठान, स्याङजालगायत छन्। आयोगले पठाएकामध्ये ५ सय ३ जनालाई मात्र हाजिर गराउन सक्ने देखिएको उनको भनाइ छ।

नेपाली विषयमा ८९ जना माग भएकामा आयोगले २ सय २७ जना छनोट गरेको थियो। अनिवार्य अंग्रेजीमा १ सय १८ जना माग भएकामा १ सय ३२, गणितमा ८६ जना चाहिनेमा १ सय ७६, विज्ञानमा १ सय ३१ चाहिनेमा १ सय ८७ र सामाजिक विषयमा ६७ जना चाहिनेमा १ सय ८७ जना लिखित तथा अन्तर्वार्ताबाट छानिएका थिए।