भरतपुर, ९ फागुन । जनवादी गीत संगीतका लागि चर्चित साँगीतिक समूह रक्तिमले फागुन अन्तिम साता चितवनको नारायणगढमा साँगीतिक कार्यक्रम गर्ने जनाएको छ ।
चितवनको भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा जनवादी गायक जीवन शर्माले फागुन २६ र २७ गते नारायणी कलामन्दिरमा आफ्ना नयाँ पुराना गीतहरू पस्कने जानकारी दिनुभयो ।
शर्माले सदावाहार क्रान्तिकारी गीतहरू ‘सिमली छाँयामा बसी’, ‘झर्नाको चिसो पानी’लगायतका दजर्नौ गीत सुनाउने छन् ।
रक्तिम साँस्कृतिक समूह पञ्चायतकालबाटै चर्चित जनवादी साँगीतिक टोली हो । २०४३ सालमा रक्तिम स्थापना भएको थियो ।
यस पटक रक्तिमले मेची–महाकाली साँस्कृतिक अभियान सुरू गरेको छ । फागुन १३ गते कञ्चनपुरमा पहिलो कार्यक्रम गर्ने रक्तिमका अध्यक्षसमेत रहेको गायक शर्माले जानकारी दिनुभयो ।
रक्तिमका कलाकारहरूले ‘कालो धन’ नाटक पनि देखाउने छन् । अभियानमा हास्यब्यङ्ग पनि समेटिने शर्माले जानकारी दिनुभयो ।
काठमाडौंमा फागुन २४ मा कार्यक्रम गर्ने योजना रहेको उहाँले बताउनुभएको छ । काठमाडौंपछि चितवनमा दुई दिन कार्यक्रम गरेर टोली पोखरा, बाग्लुङ, बेनी र पूर्वतर्फ लाग्ने योजनामा छ ।
चैत ९ गते बुटबलमा अभियानको समापन गर्ने योजना छ । कार्यक्रममा दुई सय, पाँच सय, हजार, दुई हजार र पाँच हजार रुपियाँका टिकट तोकिएको छ ।
जनमोर्चाको राजनीतिक अभियान र रक्तिमको कोषका लागि टिकट विक्री गर्न लागेको शर्माले बताउनुभयो ।
जनमोर्चाले संघीयताको विरोधमा अभियान चलाउँदै आएको छ । यस अभियानका लागि पनि स्रोत जुटाउन कार्यक्रम आयोजना गरिएको हो ।
रक्तिमको यो अभियानले संघीयताबिरुद्ध जनमोर्चाले चलाएको अभियानलाई सहयोग पुग्नेछ ।













प्रतिक्रिया