६ कार्तिक २०८३, शुक्रबार

नेपालमा ‘रअ’को राजनीतिक हस्तक्षेपबारे जेपी गुप्ताकोे खुलासा

42.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स् (रअ)ले गरेका दबाबपूर्ण कामका बारेमा पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले खुलासा गरेका छन् ।

तत्कालिन मधेसी जनाधिकार फोरमका प्रभावशाली नेता मध्येका एक गुुप्ताले रअका कारण नै उनी आवद्ध पार्टी विभाजित भएको तथ्यसहित अन्य विषयमा खुलाएका छन् ।

अन्नपूर्ण होटलमा रअका तत्कालिन नेपाल मामिला हेर्ने अशोक गुप्ताले मधेसी जनाधिकार फोरम फुटाउने खेल खेलेका थिए । उक्त बैठकका क्रममा नै उपेन्द्र यादव नेतृत्वको तत्कालिन तेस्रो ठूलो राजनीतिक शक्ति रहेको फोरम विभाजित भएको थियो ।

त्यसअघि नै विभाजित भएर लोकतान्त्रिक फोरम बनेको पार्टी अन्नपूर्ण बैठकपछि विभाजित भई गुप्ताको नेतृत्वको मधेसी जनाधिकार फोरम गणतान्त्रिक गठन भएको थियो ।

बाबुराम सरकारका कृषि मन्त्री रहेका बेला गुप्ता भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई अपदस्त भएका थिए । उनलाई सञ्चारमन्त्री भएका बेला भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन न्यायाधीश सुशीला कार्कीको इजलाशले बाहलवाला मन्त्री भएकै बेला दोषी ठहर गरेको थियो ।

गुप्ताले यी विषयतिर संकेत गर्दै ट्वीटरमा लेखेका छन्,‘ रअको प्रमुख आएकोमा हंगामा हँुदैछ । उनी त दिल्लीका हुन् । उनकै काम गर्ने यहीँ कै जन्मजात कति छन् कति !’

उनले रअकै जागिर खाएर राजनीतिमा पनि सक्रिय रहेका कतिपयतिर संकेत गर्दै अगाडि लेखेका छन्,‘शुरूमा प्रचण्ड किन हटे, मजफो किन फुट्यो ? कसले माकुनेलाई प्रम बनाए, झलनाथ हट्नुमा को ? बाबुरामलाई प्रमं कसले बनाए, लोकमान कसरी बने, खिलराजलाई कसले बनाए ? को जवाफ दिने ?’

जति पनि सन्दर्भमा उनले प्रश्न गरेका छन्, त्यसबेलाको मूलधारको सक्रिय राजनीतिका उनी साक्षी पनि हुन् । केन्द्रीय राजनीतिमा तेस्रो दल फोरमको तेस्रो वरियता र विभाजन भएपछि गठित पार्टी फोरम गणतान्त्रिकका अध्यक्षका हैसियतमा पनि उनी अनेक राजनीति घटनाक्रमको साक्षी बनेका थिए । गुप्ताले उठाएका प्रश्न अर्थपूर्ण रहेको देखिन्छ ।

सर्वोच्चबाट सजाय पाएपछि भने उनी मधेस अभियानमा सक्रिय रहेका थिए । हाल भने उनी विचार विवेचना र विविध विषयको खोजमा लागेका छन् ।

आइतबार नेपालमा सुटुक्क आएका रअका नवनियुक्त प्रमूख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेको विवरण बाहिर आएपछि रअको नेपाली राजनीतिमा माइक्रोम्यानेजमेन्ट रहेको भनी चर्चा भएको थियो ।

यस सन्दर्भमा विविध राजनीतिक दलहरू र तिनका नेतालेचाहिँ मुख खोलेका छैनन् । कहिँबाट कुनै प्रतिक्रिया पनि जनाएका छैनन् ।