१७ कार्तिक २०८३, मंगलबार

नेपालका लेखक र कालेबुङका पाठकबीच रस्साकस्सी

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ९ साउन । गोहो कथा संग्रह बजारमा आउने बित्तिकै यसका लेखक जिके पोखरेल अहिले देशविदेश भ्रमणमा छन् । अघिल्लो महिना काठमाडौंबाट पोखरेल फिदिम र चितवनमा गोहो-माथि बहस गर्न गए । यसपल्ट उनी सिक्किम र दार्जिलिङ छिरेका हुन् ।

यही मेसोमा सिक्किमका सर्जकहरूसित दुई दिन बिताएपछि उनी कालेबुङ छिरे । साङ्ग्रिला रिडर्स क्लबले आइतबारे डिस्कोर्समा कथाको काम-शीर्षकको बहसमा बोल्न उनलाई साङ्ग्रिला बुक क्याफेमा निम्त्याइएको थियो ।

गोहोलाई केन्द्रमा राखेर रिडर्स क्लबका सदस्यहरुले उनीसित एक घण्टा लामाे संवाद गरे । यसैबीच, समीक्षकहरूले उनको कथा लेखन शैलीलाई`समाचारको सर्जमिन´जस्तै भन्ने सन्दर्भ कोट्याए ।

‘नेपालमा पत्रकारहरू चिया अड्डा र दारू अड्डामा `राैसी र म्याउसी´मा रमाउने गर्छन् । रात परेपछि कथेर समाचार लेख्ने गर्छन् । यस्ताे हुँदा नेपालमा आउनुपर्ने समाचार पाठकसम्म आइपुग्दैनन् । नेता वा मन्त्रीका `पिए´सँग अफिस काेठामा पुगेर `बुँदा´ टिपेर कथेकाे फिक्सनले पत्रिकाका मुखपृष्ठ भरिएका हुन्छन् । त्यसैले त भाेलिपल्ट नेता/मन्त्रीले समाचारमा आफ्नाे `बाइट´ बङ्ग्याइएकाे स्पष्टिकरण दिन्छन् । हालकाे नेपाली पत्रकारिताकाे मुलधारकाे समस्या यही हाे । नेपालमा `कथ्य/आख्यानसिक्त´ समाचार परम्परा हुर्किएको छ । मेराे कथाकाे सन्दर्भमा शैली अलिक झिंझो लाग्दो र घुमाउराे भए पनि पढिसकेपछि मेरा कथाहरूले कुनै न कुनै विचार दिन्छ,’ पोख्रेलले कालेबुङका पाठकहरूसित भने, ‘नेपालका पत्रकार समाचारकाे मर्म नबुझेर समाचारमा आख्यान घुसाउँछन्, अनि लेखकले आख्यानमा फिचर घुसाएकाे आराेप लगाउँछन् ।’

पोख्रेलले आफ्ना कथामा नेपालमा भएको माओवादी आन्दोलनप्रतिको असहमति रहेको खुलाए । ‘काेठे समाचारमा घाेकाइएको द्वन्द्व र मैले आफै बाँचेको द्वन्द्व फरक थियो । माओवादीले `सत्ता आराेहणका लागि अपनाएकाे फास्ट ट्र्याक´ जनयुद्धले नेपाली जनतालाई केही दिएन,’ उनले भने, ‘दुईटा बन्दुकको नालसँग छलिएर बाँच्नुपर्ने मान्छेकाे जीवन मेरा कथाका मुख्य `कन्टेन्ट´ हुन् । परिवर्तनको लागि हतियारको युद्ध नै जरूरी छ भन्ने हाेइन । संसारका धनी र समृद्ध युराेपियन मुलुकहरू नर्वे र स्विडेनमा गृहयुद्ध भएकाे मलाई थाहा छैन । दार्जिलिङमा पनि अझै `गाेर्खाल्याण्ड´ आन्दोलन जारी छ, यसकारण सपना जिउँदो छ । हाम्रोमा हतारमा र हतियार बाेकेर लडेकाे आन्दोलन थियाे । अनि त असमयमै तुहियाे, सपना सकियो। भुक्तमान नेपाली जनता अब फेरि युद्ध चाहँदैनन् । यही युद्धविराेधी भावनालाई मैले लेखनको केन्द्रिय वैचारिकी बनाएको हुँ ।’

उनी संवादका क्रममा नेपाली राजनीतिर पनि छिरे । लेखकले समाजको चिन्ता गर्ने भन्दै उनले आजको नेपाली गणतन्त्र जनयुद्धले तय नगरेको अनि गणतन्त्र `१९ दिने आन्दाेलन´ र `दरबार हत्याकाण्ड´ रहेकाे खुलाए । उनले भने, `नेपालकाे गणतन्त्रकाे १० प्रतिशत  माओवादी जनयुद्ध, ४० प्रतिशत विरेन्द्रकाे वंशनास र ५० प्रतिशत १९ दिने आन्दाेलनकाे जनआकाङ्क्षा हाे ।´ उनले युद्धको घाउ देखाउन र युद्धका नेपथ्यमा रहेका विसङ्गति देखाउन आफूले कथा लेखिरहेको पनि बताए ।

‘अहिले नेपाली गणतन्त्र कुनै उपलब्धी हाेइन,´ उनले भने, `पहिलेकाे पाँच विकास क्षेत्रकाे प्लटिङलाई नयाँ रूप दिएर सात प्रदेश बनाए, भुइँ मान्छेका समस्या उस्तै छन् । जनताले यति उपलब्धि मात्रै आशा गरेका थिएनन्,’ उनले भने, ‘यही कुरा मैले कथामर्फत भनेको हुँ।’

उनलाई पाठकहरूले नेपालमा लेखेर जीविका चलाउन सक्ने स्थिति बनिसकेको मिडियाको हल्ला दार्जिलिङसम्म नै आइपुगेको सन्दर्भ झिक्दै भने, ‘त्यो हल्ला मात्रै हो । नेपालमा लेखेर जिविका चलाउने स्थिति बनेको छैन, ‘तीनचारजना लेखकलाई देखाएर यस्तो हल्ला गरिएको मात्र हो ।´

उनले नेपालमा वेस्ट सेलर किताबबारे पनि यस्तो हल्लाखल्ला गरिएको बताए । यता रिडर्स क्लब सञ्चालक उमेश परियारले नेपालका कथा, लेखक, त्यहाँ लेखिएका साहित्य र समाजको सम्बन्ध पोखरेलबाट बुझ्न सहज बनेको जनाए ।

‘दार्जिलिङमा नेपालका चर्चित किताबहरू आइपुग्छन् तर लेखकहरूसित दार्जिलिङका पाठकले संवाद गर्ने अवसर नै पाउँदैन,’ उनले भने, ‘रिडर्स क्लबले उप्रान्त नेपाली, हिन्दी, अंग्रेजी भाषाका लेखकहरूलाई निम्त्याएर संवाद निरन्तर गर्नेछ ।’