
-प्रतिक पौडेल
भैरहवा, ६ साउन । आर्थिक विधेयक २०७६ जारी भएपछि आन्तरिक राजस्व कार्यालय भैरहवामा प्यान नम्बर लिनेको भिड लाग्न थालेको छ ।
साउन १ देखि तलब खर्च लेख्दा अनिवार्य रुपमा प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गरेकाले पनि व्यक्तिगत प्यान नम्बर लिनेको संख्या बढेको हो ।
उद्योगी व्यवसायीले तत्काल प्यान दर्ता गर्न नसकिने भन्दै आन्दोलन गरेपनि व्यक्तिगत प्यान कार्ड लिन कार्यालयमा भने धमाधम सरोकारवालाहरु आउन शुरु गरेका छन् ।
भैरहवा कार्यालयमा प्यान लिनेको भिड अत्याधिक रहेको छ । आन्तिरक राजश्व कार्यालय भैरहवाका प्रमुख देवी भण्डारीका अनुशार दैनिक सयौँको संख्यामा प्यान कार्ड लिन सेवाग्राही आइरहेका छन् ।
सरकारले आर्थिक २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरलाई पनि अनिवार्य प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गरेको छ ।

साउन १ गते देखि ६ गते सम्म यस कार्यालयबाट ६ सय व्यक्तिगत प्यान वितरण भइसकेको प्रमुख भण्डारीले जानकारी दिए । प्यान लागु भए बाट आर्थिक बर्ष २०७५/०७६ सम्म भैरहवा कार्यालय बाट २५ हजार २ सय ५२ जनाले ब्यक्तीगत प्यान लिएका छन् ।
भण्डारीले प्यान कार्ड लिनेको संख्या बढ्दै गएपछि जनशक्ति थप गरेर पनि कार्ड वितरणमा सहजता बनाइएको बताए ।
प्यान लिनेको संख्या ह्वात्तै बढेपछि, कार्यालयमा सेवाग्राहीको चाप बढेको छ उनले भने जनशक्ति थप गरेर म आफै निरीक्षण र सहयोगमा जुटेको छु ।
उनका अनुसार संगठित रुपमा प्यान कार्ड लिनेको संख्या बढी रहेको छ । विद्यालय, कलेज, उद्योग, बैंक वित्तीय संघ,संस्था लगायतले आफ्ना कर्मचारीका लागि एकमुष्ट रुपमा धमाधम प्यान कार्ड लिइरहेका छन् ।
कार्यालयले अनलाईनमा आवेदन भरेर प्रिन्ट लिएर आउने सेवाग्राहीलाई तत्काल कार्ड उपलब्ध गराइरहेको छ भने कार्यालय पुगेर फारम भर्ने सेवाग्राहीलाई निश्चित समय तोकेर वितरण गरिरहेको छ ।












प्रतिक्रिया