६ कार्तिक २०८३, शुक्रबार

रेल आउँछ-आउँछ, आउँदैन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ६ साउन । जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन।

जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

गत साता मधेसमा आएको भीषण बाढीले रेल्वे ट्र्याक भताभुंग बनाएको छ। पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका—१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ।

जनकपुर—भंगहा–पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्र्याक बेड पनि बाढीले क्षति पुर्‍याएको छ। रातो खोलामा आएको बाढीको पानीमा रेल्वे ट्र्याक एक मिटरभन्दा बढी डुबेको छ। डेढ सय मिटर ट्र्याक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

बाढीले कुर्था स्टेसनको १० मिटर जति पर्खाल भत्काएको छ। जयनगर स्टेसनदेखि धनुषाको कुर्था स्टेसनसम्म ३४ किलोमिटर रेल्वे ट्र्याकमा कतै धेरै र कतै सामान्य क्षति पुर्‍याएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए।

असोजदेखि सञ्चालनको तयारीमा रहेको रेल सेवा बाढीले क्षतिग्रस्त भएपछि रेल गुड्ने योजना तत्कालका लागि रोकिएको छ। रेल सेवा सञ्चालनपूर्व जोखिम आकलन र तिनको व्यवस्थापन अत्यावश्यक रहेको इन्जिनियर ओझा बताउँछन्। ‘तराईमा बर्सेनि बाढी आउनु नौलो होइन’, उनी भन्छन्, ‘बाढीका बेला रेल्वे ट्र्याक जोगाउन कस्ता संरचना बनाउनुपर्ने हो त्यसमा ध्यान पुर्‍याउनुपर्छ।’

यो वर्षको क्षति हेर्दा बाढीले कलभर्ट नभएका ठाउँमा ट्र्याक धेरै क्षति गरेकाले अब मर्मत गर्दा ६ वटाजति कलभर्ट निर्माण गर्न भारतसँग आग्रह गरिने उनले सुनाए। भारतले पनि क्षतिको विवरण संकलन गरिरहेको र विवरण आएपछि मूल्यांकन गरेर मर्मत गरिने जानकारी गराएको छ।