१७ कार्तिक २०८३, मंगलबार

यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर देखिएन : गोकर्ण पराजुली

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर नदेखिएको बताएका हुन् । ‘ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यवहारिक त थियो नै, भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)बारे राज्य नै पूर्ण जानकार नहुँदा हामी व्यवसायी कसरी अभ्यासमा ल्याउन सक्छौँ ?’, उनले भने ।

पराजुलीले यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा राज्य ७० हजार ट्रक व्यवसायीसँग कर मात्र असुल्ने, मजदुरलाई हिरासतमा राख्ने र व्यवसायीलाई जरिवाना गराउने काममा मात्र सक्रिय भएकाले तत्काल ट्रक सडकमा गुडाउन नसक्ने बताए ।

‘यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनु भएन’, पराजुलीले भने ।

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव सरोजकुमार खनालले राजमार्गमा यातायात मजदुर असुरक्षित भएको र राज्यले यातायात व्यवसायमा भइरहेको लगानीलाई नै हतोत्साही पारिरहेकाले यथास्थितिमा सडकमा ट्रक ल्याउन नसकिने बताए ।