
काठमाडौँ, १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले काँग्रेसकै पहलकदमीका कारण माओवादीसँगको वार्ता सफल भएको र मुलुक अहिलेको अवस्थामा रुपान्तरण भएको सुनाए ।
उनले भने, ‘हाम्रो पार्टी हरहमेशा वार्ता तथा सम्वादको पक्षमा छ । हामी कहिल्यैपनि हत्या, हिंसाको पक्षधर होइनौँ । त्यसैले विप्लवसँगपनि सरकारले वार्ता तथा सम्वाद गरोस् ।’
उनले सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका पूर्व संयोजक तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको कुरा सुन्दा सरकारले अहिलेसम्म वार्ताको लागि विप्लवलाई पत्राचार नै नगरेको सुनाए । उनले भने, ‘सरकारले अहिलेसम्म पत्राचार गरेको छैन भन्ने कुरा पाण्डेजीले भन्नुभयो, अहिलेसम्म मागका बारेमा पनि ठोस कुरा आएको छैन भन्नुभयो । सरकार संवेदनशील बन्नुपर्छ ।’
उनले वर्तमान सरकारसँग जनता सर्वथा निराश रहेको पनि गुनासो पोखे । उनले भने, ‘यो सरकार कता जाँदैछ ? सरकारमा रहेका दलका नेताहरु नै अहिले सर्वथा असन्तुष्ट हुनुहुन्छ ।’ उनले सरकारले देश र जनतामा निराशाको विउ छर्ने काम गरेको आरोप लगाए ।
सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि विप्लवका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘यो राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ । अहिले नेकपा र डबल नेकपाबीच एक आपसमा सौताकोजस्तो व्यवहार देखिएको छ । यो व्यवहार त्यागेर छिटोभन्दा छिटो समाधान खोज्नुपर्छ ।’
सांसदसमेत रहेका सह–अध्यक्ष श्रेष्ठले अहिले परिवर्तित अवस्था भएकोले यो परिवर्तनलाई आत्मसात गरिएको छ कि छैन ? भन्ने कुरा मूल प्रश्न भएको सुनाए ।
कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने धारणा राखेका छन् ।
उनले भने, ‘विप्लवसँग वार्ता हुनुपर्छ भनेर हामीले आजभन्दा करिब २ महिना अघि प्रधानमन्त्रीलाई भेटेका थियौं । यसको लागि सुन्दरमणि दिक्षितले पहलकदमी लिनुभएको थियो ।’ तर, पछिल्लो समय वार्ताले औपचारिकता पाएको हल्ला चलाईएको भनेर स्वयम विप्लव समूहले गरेको पनि उनले सुनाए ।
उनले भने, ‘अहिलेको समाचार हेर्दा वार्ता नभएको कुरा आएको छ । यो त प्रतिक्रियावादीहरुले चलाएको हल्ला हो भनेर उनीहरुले भन्न थालेका छन् । कुनै वार्ता भएको छैन भनेर विप्लव समूहले भनेको छ ।’ उनले आफूले चन्द समूहको कुरा गर्दा आफूलाई नै गोली ठोक्ने हुन कि भन्दै ठट्टा गरे । उनले भने,‘म विप्लवसँग टच छैन ।’












प्रतिक्रिया