
काठमाडौँ, ३० असार । दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका राष्ट्रपति निलोकस मडुरोका छोरा निकोलस मडुरो गुयरा नेपाल आएका छन् । उनी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार नेपाल आइपुगेका हुन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा भातृ संगठनको कार्यक्रममा सहभागी हुन गुयरा नेपाल आएका हुन् ।
नेपाल भ्रमणमा रहेको यो टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको माथिल्लोदेखि तल्लो तहसम्मका नेतासँग भेटवार्ता गरेको छ ।राष्ट्रपति मडुरोको छोरा सहितको टोलीले सोमबार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । टोलीले खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर भेटवार्ता गरेको हो । यस्तै, नेकपाका सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेको छ ।
नेकपाको युवा भातृ संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले भेनेजुयलाको सत्तारूढ दलको युवा संगठन महासचिवको नेतृत्वमा १५ सदस्यीय टोली नेपाल आएको बताए । अध्यक्ष सापकोटाले राष्ट्रपति पुत्र गुयरा राष्ट्रपतिको पुत्रका रुपमा नभइ युवा संगठनको नेताका रुपमा आएको बताए ।
टोलीमा सहायक शिक्षामन्त्री र नेपालका लागि भेनेजुएली राजदूत कोरोमोतो गेदाई पनि सहभागी छन् । दिल्लीस्थित भेनेजुएली दूतावासले नेपाललाई हेर्दै आएको छ । सापकोटाका अनुसार हिजो होटल याक एण्ड यतिमा औपचारिक कार्यक्रम भएको थियो । ‘प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल थिए ।
गुयरा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलाका तर्फबाट सन् २०१४ मा राष्ट्रिय महाधिवेशनका प्रतिनिधि बनेका थिए । हाल उनी राष्ट्रपति मातहतका कार्यक्रमको निरीक्षण गर्ने कार्यक्रमका प्रमुख छन् । उनी विशेष सैनिक फौजका प्रमुख समेत हुन् ।
डिल्लीबजारस्थित भान्सा घरमा भएको एक कार्यक्रममा राष्ट्रपति पुत्र गुयराले भेनेजुएलाले नेपालको कृषिबाट सिक्न चाहेको बताएका थिए । भेनेजुएला तेल, कोइला र सुनका लागि प्रसिद्ध रहे पनि उनले आफ्नो देशले कृषिलाई पनि प्राथमिकतामा राखेको बताएका थिए ।
टोलीले अन्तक्र्रियापछि होटलमै नेता खनालसँग छुट्टै भेटवार्ता गरेको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि होटलमै भेटवार्ता गरे । भेनेजुयलाका युवा टोलीले राजधानी नजिकैको चन्द्रागिरीको समेत भ्रमण गरेको छ ।
ल्याटिन अमेरिकी देश भेनेजुएला राजनीतिक संटकको अवस्थामा छ । विश्वको धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश भए पनि घट्दो मूल्य र अव्यवस्थाको कारण ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।
गत वर्ष भएको चुनावमा निकालोस मादुरो पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि संकट झनै गहिरिएको छ । विपक्षी दलको नेता हुँवा गुइदोले संसदबाट अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएला लगभग गृहयुद्धको अवस्थामा पुगेको छ ।
गुइदोलाई अमेरिकासहित ५० वटाभन्दा बढी देशले अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गरेका छन् । मदुरोलाई चीन, रुस, टर्कीसहितका देशले समर्थन गरेका छन् ।
भेनेजुएलाको विवादमा गत माघमा नेपाल पनि मुछिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा शब्दको विज्ञप्ति जारी गरेपछि नेपालस्थित अमेरिकी दुतावासले नेपाल सरकारको धारणा माग गरेको थियो ।
‘भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ,’ दाहालको विज्ञप्तिमा भनिएको थियो, ‘जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको भत्सर्ना गर्दछ ।’
नेपाल सरकारले भेनेजुएलामा बाह्य हस्ताक्षेतबाट सत्ता परिवर्तन गर्ने कार्यको विरोध गरेको थियो ।















प्रतिक्रिया