६ कार्तिक २०८३, शुक्रबार

‘प्राविधिकबिनाको सडक निर्माणले बाढीपहिरोको प्रकोप’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक रूपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

कमजोर भूधरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो ।

जानकारहरूका अनुसार महाभारत पर्वत शृंखलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको विज्ञहरूले बताएका छन् । पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण १ हजार ६७२ जनाको मृत्यु भएको छ ।

महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृंखलाबीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगन्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

गत वर्षको साउनदेखि सोमबारसम्म २७५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन् ।

यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै, २ हजार १२१ जना घाइते भएका छन् । यस्तै, महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् । बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ ।

भूगर्भविद् डा. कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो । बिनाअध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो ।

यस्तै, अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूलाठूला पहिरो जाने गरेको छ । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको छ ।

वर्षाको पानी रोक्ने रूख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको चुरेको अध्ययन गरिरहेका भूगर्भविद् डा. सुबोध ढकालले बताए ।

महाभारत पर्वत शृंखला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै उनले भने, ‘प्राकृतिक रूपमा नै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिक रूपमा नै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायोइन्जिनियरिङ गर्नुपर्छ ।’

पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको डा. रञ्जनकुमार दाहाल बताउँछन् । सोमबार जापानमा रहेका उनले अनलाइन कुराकानीमा प्राविधिक ज्ञानको उपयोग नगर्नुको उपजको रूपमा सोमबारको बाढीपहिरोलाई दिएको बताए ।

‘सडक निर्माण गर्दा बढी मात्रामा मेसिन तथा अन्य उपकरणको प्रयोग गरियो,’ उनले भने, ‘कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेसिनको प्रयोग नै पहिरोको कारण बनिरहेको छ ।’

त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेसिनको प्रयोग गरिएका कारण सो सडकखण्डमा दैनिक पहिरो खसेको डा. दाहाल बताउँछन् । पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उनको सुझाव छ ।