काठमाडाैं, २९ असार । वर्षा कम भएसँगै राहत वितरणको कामलाई तिव्रता दिन थालिएको सरकारले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पालिकाहरुले क्षतिको विवरण संकलनसँगै उद्धार र राहतको काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्थानीयस्तरमा पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका काम अघि बढाउन निर्देशन दिइसकिएको छ ।
थप स्रोतसाधनको आवश्यकता परेमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्न सक्नेछन् । उद्धार तथा राहत नपाएका पीडितलाई आफ्नो वडा र जनप्रतिनिधिसँग सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
उद्धार तथा राहतको लागि पालिकाहरुले जुनसुकै शीर्षको बजेट विपद व्यवस्थापनमा खर्च गर्न सक्नेछन् ।
कुन ठाउँमा कस्तो उद्धार र राहत आवश्यकता पर्छ भन्ने कुरा गाउँपालिका र नगरपालिकाहरूलाई थाहा हुने भएकाले स्थानीयस्तरमै जिम्मेवारी दिइको गृह मन्त्रालयले जनाएकाे छ ।
तत्कालीन खाद्यान्न, पानी, औषधि, त्रिपालजस्ता अत्यावश्यक वस्तु पालिका र प्रदेशसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।












प्रतिक्रिया