
काठमाडौं, २१ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीति फड्को र उनले स्थापित गरेको गणतन्त्रको संघर्षलाई नियाल्दा सफलताको नेपथ्यमा सीता दाहालको नाम छुट्दैन । अर्थात्, प्रचण्डकी धर्म पत्नी ।
प्रचण्डले राजनीतिक जीवन सुरु नभई नै सीता उनीसँग जोडिइन्, लगनगाँठो कसेर । जीवन अर्पण गर्न तयार भइन्, ०२६ सालमा । जुनबेला प्रचण्डले राजनीतिक जीवन सुरु गर्नै लागेका थिए । प्रचण्डले एसएलसी दिएका थिए ।
सीता दाहालसँग बिहे गरेको दुई बर्ष पछि मात्र प्रचण्डले कम्युनिस्ट राजनीतिमा सक्रियता देखाए, पुष्पलाल श्रेष्ठसँग मिलेर । त्यसबेलाको कठिन परिस्थितिमा सीताको भूमिका प्रभावकारी थियो । कतिपय अवस्थालाई स्मरण गर्दै अन्तरवार्ताहरूमा प्रचण्डले भनेका छन्,‘ढिँडो खान पनि अप्ठेरो परेको अवस्थामा राजनीति गरियो, जहाँ सीता दाहालको सहनसक्ने शक्ति, सहयोग गर्ने सामथ्र्यले एउटा क्रान्तिको युगसम्म पुगियो ।’
राजनीतिको एउटा विशिष्ट चरणमा चार सन्तान जन्माएकी उनले, हुर्काउन कति कष्ट गरिन् होला, अनुमानयोग्य नै छ । जतिबेला प्रचण्ड प्रतिबन्धित राजनीतिमा सक्रिय थिए, सन्तानका लागि समय दिन पाएका थिएनन् । त्यसबेला सीताले प्रचण्डको राजनीति र सन्तान हुर्काउने संघर्षको मैदानमा सफलता पाइन् ।
यो पनि पढौं,
सीता दाहालको दुर्लभ मुस्कान !
‘हरेक चिजलाई योगदानका हिसाबमा पनि व्याख्या गर्नुपर्छ । उहाँले सन्तानदेखि अध्यक्षको राजनीतिक जीवनको सुरक्षा कसरी हुन्छ भन्ने पाटोबाट मुल्यांकन गर्न आवश्यक छ’, जानकारहरू भन्छन्,‘तर अहिले उहाँ नै यति पीडित बन्नु भएको छ यो पीडालाई बुझिदिनु पनि पर्छ ।’
२१ असार, सीताको जन्मदिन । जीवनको उत्तरार्धतिर लागेकी छन् । ६६ बर्ष पुगिन् । यसबेला जीन्दगीका आराम दिन बिताउनुपर्ने सामान्य मान्यता र मानकसँग उनी परिचित छैनन् । किनभने, उर्जाशील समयमा संकट र संघर्ष गरेकी उनी ‘रिटायर्ड’ उमेरमा रोगसँग लडिरहेकी छन् ।
सीता पत्नीमात्र नभएर आमा हुन् । उनले आफू बाँचेकै बखत छोरी ज्ञानु र छोरा प्रकाशलाई श्रद्धासुमन चढाइन् । जसले उनलाई स्वभाविक रूपमा विचलित बनायो ।
त्यसैको प्रभाव हो, उनको अहिलेको स्वास्थ्य अवस्था । तर, परिवारका सदस्य भन्छन्,‘आमाको स्वास्थ्यमा सुधार आउँदैछ ।’
बिमार छिन् । उपचार गराइरहेकी छन् । युद्ध र क्रान्तिमा पतिलाई सफल बनाउने उनी, पुत्र शोकको भावुकताको लामो संघर्षसँग जुधिरहेकी छन् । माओवादी युद्धमा डाँडापाखा होस् वा गोरेटो र दोबाटो प्रचण्डको छायाँजस्तो बनेर हिँडेकी उनी असाधारण समयमा सक्रिय भइन् ।
जब साधारण समय आयो, उनी पीडाको भवसागरमा पुगिन् । त्यसैले उनको त्यो पीडालाई खुशीमा परिणत गर्न, परिवारका सबै सदस्य सक्रिय छन् । खासगरी, प्रचण्ड आफैं र छोरीहरू ।
प्रचण्डको ५० औं बैवाहिक बर्षगाँठमा पुनः बिहे गराउनुको उद्देश्य पनि सीताको स्वास्थ्यमा कुनै चमत्कारिक परिवर्तन आउला कि भन्ने थियो । प्रचण्डले सोही कार्यक्रममा भनेका थिए,‘यो मेरो तयारी होइन, मेरो चाहना होइन, सीताको स्वास्थ्य अवस्थामा परिवर्तन आउँछ कि भन्ने विश्वासका कारण गरिएको हो ।’















प्रतिक्रिया