६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस निकटको फोरमका वाग्ले र तामाङलाई झट्का, पत्रले बहुमत सदस्यहरू खुसी

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली कांग्रेसले आफ्नो शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा फोरमको तर्फबाट उम्मेदवारबारे कुनै पनि निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

संगठनको हित विपरित फोरमका अध्यक्ष हंसराज वाग्लेले एकलौटी रुपमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको बेला ओखलढुंगा जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गरेका वैदेशिक रोजगार व्यवसायी समेत रहेका कांग्रेसका सक्रिय सदस्य कमल तामाङलाई संघको अध्यक्षका लागि फोरमको तर्फबाट टिकट दिएपछि विवाद भएको थियो ।

अध्यक्ष हंसराज वाग्लेले आर्थिक प्रलोभनमा परेर कमल तामाङलाई अल्पमतको निर्णयबाट संघको अध्यक्षको टिकट दिएको भन्दै बहुमत अन्य पदाधिकारी र सदस्यहरूले विरोध गर्दै आएका छन् । नेपाली कांग्रेस मुख्यालयबाट अध्यक्ष वाग्लेको निर्णयलाई कार्यान्वयन नगर्न निर्देशन दिएपछि बहुमत सदस्यहरू खुसी भएका छन् ।

कमल तामाङलाई कारबाहीका लागि प्रमाणसहित ओखलढुंगा कांग्रेसले केन्द्रीय कार्यालयमा उजुरी दिइसकेको छ । कमल तामाङमाथि अनुशासन समितिमा छानविन चलिरहेको छ ।

‘नेपाल वैदेशिक रोगार व्यवसायी संघको निर्वाचनका लागि फोरमका तर्फबाट उम्मेदवारीबारे निर्णय गरेको पत्र प्राप्त भयो’, असार २० गते शुक्रबार फोरमलाई नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर पठाएको पत्रमा भनिएको छ ।

‘त्यस शुभेच्छुक संस्थाका अध्यक्ष बाहेक सबै पदाधिकारीले उक्त निर्णय वैधानिक, सान्दर्भिक तथा औचित्यपूर्ण नभएको भनी पार्टी केन्द्रीय कार्यालयमा निवेदन प्रस्तुत गरेका छन्’, निर्देशनमा भनिएको छ ।’

‘निर्णयमा अध्यक्ष बाहेकका सबै पदाधिकारी र पार्टीले तोकेको केन्द्रीय प्रतिनिधि समेतको अनुपस्थितिमा निर्णय गरिएको भन्ने विषय उल्लेख गरी निवेदन दिएको हुँदा पार्टीका केन्द्रीय प्रतिनिधिको सल्लाह र परामर्शमा निर्णय गर्ने गरी हाल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशानुसार अनुरोध गरिन्छ’, निर्देशन पत्रमा उल्लेख छ ।