१८ कार्तिक २०८३, बुधबार

‘उज्ज्वली’ लघु उपन्यास लोकार्पित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । गगनसिंह थापाद्वारा ‘उज्ज्वली’ लघु उपन्यासको लोकार्पण गरिएको छ । साहित्यकार धु्रवचन्द्र गौतमले कृति लोकार्पण गर्दै समाजमा रहेको छुवाछुत प्रथा र अन्य विभिन्न कुप्रथामा आधारित रहेर सबैले जानेभोगेका र बुझेका विषयवस्तुलाई लघुउपन्यासका माध्यमबाट पठनीय ढङ्गले पस्कन लेखक सफल भएको बताउनुभयो ।

गौतमले पुस्तकमा मनोवैज्ञानिक पक्ष पाउन सकिन्छ भन्दै पात्रहरुमा बौद्धिकता झल्कने बताउनुभयो । “नारीले नारीलाई गरेको हिंसालाई पनि उपन्यासमा समेटिएको छ”, उहाँले भन्नुभयो, “यो सुखान्त उपन्यास हो ।”

साहित्यकार नयनराज पाण्डेले साहित्यले समाजमा रुपान्तरण र जागरण पैदा गर्नुपर्ने बताउनुभयो । आख्यानकार महेशविक्रम शाहले कृतिले पाठकको मन छुन सक्नुपर्ने बताउनुभयो । “यो उपन्यासले मेरो मन साँच्चै छोयो” उहाँले भन्नुभयो, “ पाठकको आकर्षण नै लेखकको सबैभन्दा ठूलो सफलता हो ।”

आख्यानकार नीलम कार्की ‘निहारिका’ले नीतिगत रुपमा विभिन्न प्रथाको अन्त्य भए पनि व्यावहारिक रुपमा परिवर्तन हुन नसकेको बताउँदै उपन्यासमा समाजका वास्तविक पक्षलाई लेखकले सरल ढङ्गले उतार्न सफल भएको टिप्पणी गर्नुभयो ।

थापाको यो पाँचौँ कृति हो । यसअघि ‘सोह्र सौगात’ संयुक्त कथासङ्ग्रह (२०३५), ‘कर्णाली छेउछाउ’, ‘पुर्खाको चिठ्ठी’ र ‘मेरो मधुशाला’ प्रकाशित छन् । उहाँको अर्को उपन्यास ‘महाप्रलय’ प्रकाशनको तयारीमा छ । –रासस