काठमाडौं, २० असार । काभ्रेपलाञ्चोकको पाँचखाल–७ मा लिच्छविकालीन भग्नावशेष भेटिएका छन्। पुरातत्त्व विभागको टोलीले हालै करिब दुई साता यसको उत्खनन् गरेको थियो। त्यस क्रममा खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेषदेखि मानदेवले चलाएको मुद्रा मानांकलगायत भेटिएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
पाइपलाइन इँटा र माटोले बनाएको पाइएको छ। रानीपोखरी दरबारसमेत फेला परेको उत्खनन्मा खटिएका पुरातत्त्वविद् उद्धवराज आचार्यले बताए। उनका अनुसार उत्खनन्का क्रममा पुरातात्त्विक अभिलेख फेला परेको छ। ती अभिलेख १२–१३औं शताब्दीको भएको अनुमान छ। ‘हामीले १२–१३ दिन उत्खनन् गरेका थियौं’, उनले भने, ‘त्यहाँ खानेपानीका तीनवटा पुराना पाइपलाइन भेटिए। एउटा भवनको जग भेटियो।’
उनका अनुसार पुरानो कुवाबाट श्रीरामपाटी बजार हुँदै किटनीको चौर रानीपोखरीसम्म (डेढ किलोमिटर)को पाइपलाइन छ। अर्को काँगियोको कुवाबाट किटनी चौर हुँदै रानीपोखरीमा खसाइएको सवा किलोमिटरको पाइपलाइन छ। यस्तै, झिकु खोला बाँध बाँधेर घट्टेकुलो, श्रीरामपाटी ढापखोला हुँदै रानीपोखरीमा झारिएको अर्को पाइपलाइन पनि छ।
१२–१३ औं शताब्दीका इँटा, सिलौटा, माटाका भाँडा पनि पाइएको छ। नारायणको मूर्तिसमेत फेला परेको छ। तत्कालीन नेपाल र चिनियाँ पक्षबीच उपहार अदानप्रदान गरेको अभिलेख पनि भेटिएको छ। त्यस सम्बन्धमा अध्ययन भइरहेको उनले बताए।
‘प्रारम्भिक उत्खनन्मा ऐतिहासिक प्रमाण भेटिएका छन्’, उनले भने, ‘ती लिच्छविकालीन हुन्।’ मानदेवको पालाको मुद्रा मानांक, अंशु बर्माको पालाका सिक्कासमेत पाइएको छ। सिक्काको एक पाटोमा ‘भोगिनी’ लेखिएको छ। अर्को पाटामा सिंहको चित्र छ। आचार्यका अनुसार भोगिनी पाली भाषा हो।















प्रतिक्रिया