
काठमाडौँ, १ असार । चलचित्र ‘विरविक्रम २’को पीजी समीक्षा गर्दा विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका कलाकार प्रनेश गौतम साधरण तारेखमा रिहा भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतले कलाकार गौतमलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश बाबुराम सुवेदीको इजलासमा भएको थुनछेक बहसपछि उनलाई तत्काल साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।
जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले प्रनेशलाई साधारण तारेखमा राखेर मुद्दाको सुनवाइ गर्न आदेश गरेको बताए ।
महानगरीय अपराध महाशाखाले चलचित्र ‘विरविक्रम २’ को समीक्षा गर्दा प्रनेशले विद्युतीय कारोबार ऐनको उलंघन गरेको भन्दै जेठ २४ मा पक्राउ गरेर कारबाही थालेको थियो ।
महाशाखाले चलचित्र निर्देशक मिलन चाम्लिङ राईले दिएको उजुरीका आधारमा आफै हाजिर भएका प्रनेशलाई थुनामा राखेको थियो । प्रनेशले निर्देशकको मान प्रतिष्ठामा खलल पुर्याएको र चलचित्रको ब्यापार व्यवसायमा घाटा पुर्याउने र झुठ्ठा प्रचार प्रसार गरी गाली गलौज गरेकोले विद्युतीय कारोबार ऐन अनुसार कारबाही थालेको थियो ।
समीक्षा गरेकै आधारमा प्रनेशलाई पक्राउ गरेपछि चौतर्फी रुपमा त्यसको विरोध हुँदै आएको थियो ।












प्रतिक्रिया