काठमाडौं, ५ फागुन । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा विन्टर कप अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट प्रतियोगिता बिहीबारदेखि पुल्चोक इन्जिनिएरिङ क्याम्पसको मैदानमा हुने भएको छ ।
व्हीलचेयर क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वमै पहिलो पटक हुन लागेको आयोजक संघका अध्यक्ष किशोरबहादुर शाहीले सोमबार जोरपाटीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
दुईदिने प्रतियोगितामा नेपाल र पाकिस्तानले ३ खेल खेल्नेछन् । पहिलो र दोश्रो खेल बिहीबार तथा तेश्रो खेल शुक्रबार हुनेछ । खेल टी– १० (१० ओभर) को हुनेछ ।
१४ सदस्यीय नेपाली खेलाडी टोलीको कप्तानमा हिमाल अर्याल रहेका छन् । त्यसमा दुई महिला खेलाडी हेमकला सुनवार र लक्ष्मी घिमिरे पनि टोलीमा समावेश छन् ।
पाकिस्तानी टोली बुधबार काठमाडौं आइपुग्ने बताइएको छ । व्हीलचेयर क्रिकेटको सुरुआत पाकिस्तानबाटै भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाली टोलीले ३ हप्तादेखि प्रतियोगिताका लागि अभ्यास गरिरहेको प्रशिक्षक गंगाप्रसाद पौडेलले बताए ।
कप्तान अर्यालले प्रतियोगिता खेल्ने अवसर मिलाइ दिएकोमा संघलाई धन्यवाद दिदै जित नै लक्ष्य भएको बताए ।













प्रतिक्रिया