१९ कार्तिक २०८३, बिहिबार

छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १९ जेठ । चट्याङका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् ।

चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो लागेको स्थानीयवासीले जानकारी दिएका छन् । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो ।

चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

यसैबीच, रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको छ ।

शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो ।

अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ । ४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिनुभयो । उनका परिवार भने सकुशल रहेको बताइएको छ ।

माझीसँगै उहाँको घरसमेत पहिरोमा पुरिएको छ । पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरिएको छ ।

गाउँपालिकाको भुँइतलाको दुइवटै सटर पूर्णरूपमा पुरिएको छ । सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पुर्याएको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी नै छ ।

अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पु¥याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।    –रासस