
-बिजय चालिसे
कावासोती, १९ जेठ । नवलपुरमा पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै ४ स्थानमा भएका सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ ।
पूर्वपश्चिम राजमार्ग अनतरगत सदरमुकाम कावासोती ८ मा लु १ ख ६७४७ नंबरको ट्रकले ठक्कर दिदा सोही ठाउँका पैदल यात्री ५० बर्षीय बम बहादुर श्रेष्ठको ज्यान गएको छ । टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यसैगरी, देवचुली नगरपालिका ३ मा ना ६ ख ६५२५ नंबरको ट्रकले भे ९ प २१४६ नंबरको स्कुटरलाइ ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने आमा घाईते भएकी छिन् ।
दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ कि १७ वर्षिय दिया थापाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो भने ३४ वर्षिय आमा नन्दा थापाको सोही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै, आज बिहान ४ः१५ बजे गैँडाकोट नगरपालिका १२ को हर्कपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९३५३ नं. को बस अनियन्त्रित भई पल्टिदा बसमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै, देवचुली नगरपालिका १४ मा ट्रकले बसलाई ठक्कर दिदा २ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा ना ७ ख ४६४ नंबरको ट्रकले बिग्रीएर रोकि राखेको ना ५ ख ७२४२ नंबरको बसलाई पछाडिबाट ठक्कर दिँदा बस चालक सल्यान जिल्लाका ४५ बर्षीय युवराज घर्ती र सोही ठाउँका सहचालक २७ बर्षीय विकुल केसी घाइते भएका छन् ।
घाईतेमध्ये सहचालक केसीको अवस्था चिन्ताजनक रहेको छ । दुबै जनाको पनि पुरानो मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।












प्रतिक्रिया