नयाँदिल्ली, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि नयाँ सरकारका मन्त्रीहरूले पनि सपथ लिएका छन् ।
बिहीबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दले सपथ खुवाएका हुन् । मोदीको मन्त्रिमण्डलमा केही नयाँ अनुहार पनि अटाएका छन् ।
मोदीका विश्वासपात्र भाजपाका अध्यक्ष अमित शाहले पनि सपथ लिएका छन् । पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरीलगायतका नेताहरूले मोदीको मन्त्रिमण्डलमा पुनः प्रवेश पाएका छन् ।
पूर्वविदेश सचिव एस जयशंकर पनि परेका छन् । उनी मोदी नेतृत्वको सरकारमा नयाँ अनुहार हुन् । उनी भारतले नेपाललाई नाकाबन्दी लगाउँदाका डिजाइनरका रूपमा समेत चिनिन्थे ।
भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छिन् ।
अघिल्लो पटक मोदी नेतृत्व सरकारको अर्थमन्त्री रहेका अरुण जेटली र विदेशमन्त्री सुस्मा स्वराज यो पटक मोदीको मन्त्रिमण्डलमा सहभागी भएका छैनन् । भारतीय मिडियाहरुका अनुसार स्वास्थ्यका कारण उनी सहभागी नभएका हुन् ।















प्रतिक्रिया