नयाँदिल्ली, १३ जेठ । भारतको सिक्किम राज्यको मुख्यमन्त्रीमा प्रेम सिंह तामाङ गोले मुख्यमन्त्री बनेका छन् ।
उनले मुख्यमन्त्रीको सपथ ग्रहण गर्दैछन् । पवन चाम्लिङको २५ वर्ष लामो शासनलाई अन्त्य गर्दै तामाङ मुख्यमन्त्री बन्न लागेका हुन ।
मुख्यमन्त्रीसँगै उनको सोमबार मन्त्रिपरिषद् पनि गठन गर्ने छन । उनको ११ सदस्यीय मन्त्रिपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन् ।
भ्रष्टाचारी ठहर गरेका व्यक्ति मुख्यमन्त्री बनेकाले पूर्व मुख्यमन्त्री चाम्लिङले उनको सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताइएको छ ।
गत बिहीबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिटमध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो ।
चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको थियो ।
सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।
भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मुख्यमन्त्री बन्न पाउने प्रावधान छ । त्यसै प्रावधान अन्तर्गत प्रेमसिंह मुख्यमन्त्री भएका हुन् ।
यसरी ६ महिनासम्मका लागि मुख्यमन्त्री बन्न पाइन्छ । ६ महिनाभित्रमा विधानसभामा सदस्य नभए मुख्यमन्त्री पद जान्छ ।
उनका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन् ।
चाम्लिङको सत्ता उल्टाइदिने गोलेको राजनीतिक यात्रा चाम्लिङसँगै सुरू भएको थियो ।
चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेसँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन् ।
त्यसपछि सन् १९९४ मा भएको निर्वाचनबाट गोले पहिलो पटक सांसद चुनिए ।
सांसद चुनिएसँगै उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा गोले मन्त्री बने। उनी सन् १९९४ देखी सन् २००९ सम्म लगातार ३ पटक मन्त्री भए ।
त्यसक्रममा उनले पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा काम गरे ।
सन् २०१३ मा चाम्लिङको पार्टी छोडेर सिक्किम क्रान्तिकारी परिषद् गठन गरे ।
त्यसपछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो। सो मुद्दामा उनी झण्डै एक वर्ष जेल बसे ।















प्रतिक्रिया