१ कार्तिक २०८३, आइतबार

काँग्रेसको लज्जास्पद हारपछि राहुल गान्धीले राजीनामा दिए

10.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ११ जेठ । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन् । उनले लोकसभामा पराजयपछि बसेको काँग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन् ।

लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि काँग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए । तर, काँग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका छन् । राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ ।

भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ । राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् ।

काँग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको थियो । उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो । यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ।

राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेटठीबाट पराजित भएका छन् । यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि तीन प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन् । कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका छन् । -एजेन्सी