१९ कार्तिक २०८३, बिहिबार

सांसद विनोद चौधरीद्वारा हावाहुरी पीडितलाई जस्तापाता प्रदान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ ।

नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याए लगत्तै सहयोग उपलब्ध गराएका हुन् ।

जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको छ । घरहरूमा समेत क्षती पुगेको छ । ‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन् ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।’

विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले नवलपुरवासीका लागि जस्ता पाताको व्यवस्था मिलाएका हुन् ।

पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीले उपलब्ध गराएको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको छ ।

जेठ ७ र ८ गते आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ । जसका कारण पीडितहरू चर्को गर्मी र हुरी वतासकाबीच खुला आकाशमा बस्नुपर्ने बाध्यता छ ।

हुरीसँगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आषिश भुर्तेलल बताए । हावाहुरी र चर्को गर्मीको मौसममा छानो समेत उडाउदा स्थानीयवासीहरु बिचल्लीमा परेका छन् ।

देबचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले छानो उडाएका कारण विचल्लीमा परेका सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरी नवलपुरवासीप्रति जिम्मेवार भएको सन्देश दिएको बताए ।

देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले सांसद एवं देशकै वरिष्ठ उद्योगपति बिनोद चौधरीले आफ्नो जिल्लावासीका लागि साँच्चिकै अभिभावकको जिम्मेवारी निर्वाह गरेको बताए ।

‘सांसद विनोद चौधरी नवलपुरवासीको सुख दुःखमा हामीसँगै पाउँदा हामीलाई निकै उत्साह मिलेको छ’, मेयर श्रेष्ठले भने,  ‘नवलपुरमा सीजी इन्डस्ट्रियल पार्क रहनुले हाम्रा लागि धेरै सकारात्मक योगदान पुगेको छ । हामी समस्यामा पर्दा हाम्रो साथी सीजी बन्दै आएको छ ।’