
-बिजय चालिसे
कावासोती, ८ जेठ । नवलपुरको कृषि उपज बजार केन्द्रमा रहेका हरिया रुख कटान गरि डिभिजन वन कार्यालयमा लगेर घाटगद्दी गरिएकोप्रति शिव सामुदायिक वन उपभोक्ता समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समूहको कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै समूहकी अध्यक्ष गिता अर्यालले बर्षौँदेखि आफूहरुले संरक्षण र सदुपयोग गर्दै आइरहेको वन क्षेत्रबाट हरिया ८ वटा सालका र ३ वटा सिसौ जातका रुखहरु काटेर वन कार्यालयले हस्तक्षेप गरेको आरोप लगाइन ।
तत्कालीन २०६२ असार १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कृषि उपज बजार केन्द्रलाई २ दशमलव ६ हेक्टर जमिन दिने तर त्यहाँ रहेका सबै रुखहरुको संरक्षण एवं सदुपयोग सामुदायिक वनले नै गर्ने निर्णय भएपनि त्यस विपरित अहिले वन कार्यालयले हस्तक्षेप गरेको सामुदायिक वन समूहको आरोप छ ।
यसअघि बजार केन्द्रको भवन बनाउँदा काटिएका रुखहरुको सदुपयोग सामुदायिक वनले नै गरिरहेको भएपनि गत बैशाख १३ गते काटिएका ११ वटा रुखहरुका काठपात मन्त्रिपरिषदको निर्णय भन्दै वन कार्यालयले घाटगद्दी गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामुदायिक वनले बार्षिक कार्ययोजना बनाई उक्त क्षेत्रमा परेका सुखा, ढलापढा रुखहरु छपान कटान गर्दै आइरहेकोमा अहिले आफूहरुलाई बन्चित गराइएको उनीहरुको ठहर छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अर्यालले वन समूहलाई हस्तक्षेप गरिएको भन्दै आफूहरु केन्द्रमा डेलिगेशन जाने तयारिमा रहेको बताइन् ।
साथै, बैशाख १३ गते काटिएका ११ वटा रुखहरुका काठपात बिना शर्त सामुदायिक वन समूहका उपभोक्ताले सदुपयोग गर्न पाउने गरि फिर्ता गर्न माग गरिएको छ । विभिन्न बहानामा खडा हरिया रुखहरु काट्ने काम बन्द गर्न पनि वन समूहले आग्रह गरेको छ ।
यता, डिभिजन वन कार्यालय नवलपुरले भने मन्त्रिस्तरिय निर्णय अनुसार बजार केन्द्रमा रहेका रुखहरु काट्न आफूहरुलाई परिपत्र भए अनुसार काटिएको स्पष्ट पारेको छ ।
कृषि उपज केन्द्रमा साताको ३ दिन बजार लाग्ने भएकाले त्यहाँ कुनैपनि बेला मानवीय क्षति हुनसक्ने भन्दै रुखहरु काट्न कृषि बजार उपज केन्द्रले वन कार्यालयमा माग गरे अनुसार वन विभागमा पठाइएको र वन मन्त्रालयमार्फत परिपत्र आएपछि रुख काटिएको डिभिजन वन कार्यालयको भनाई छ ।
वन कार्यलयका अनुसार पछिल्लो मन्त्रिस्तरिय निर्णय अनुसार बजार केन्द्रमा रहेका रुखहरुका काठपात नेपाल सरकारको जिम्मामा रहने निर्णय गरे अनुसार आफूहरुले घाटगद्दी गरिएको बताएको छ ।












प्रतिक्रिया