
काठमाडौं, ४ जेठ । पूर्वराजपरिवारका सदस्यहरूले थाइल्यान्डलाई विदेश भ्रमणको इपिसेन्टर बनाएका छन् । बर्षका धेरै महिना परिवारका कुनै न कुनै सदस्य उक्त मुलुकका लागि निस्कने गरेका छन् । पुनः परिवारका सबै सदस्य लिएर पूर्वराजा ज्ञानेन्द्र शाह एक महिनाका लागि थाइल्यान्ड जाने विवरणहरू बाहिर आएका छन् ।
पूर्वराजपरिवार भ्रमणका लागि नभएर महत्वपूर्ण भेटघाट अनि परिवारका सदस्यको अध्ययनको सन्दर्भका क्रममा पनि त्यहाँ पुग्ने गरेका छन् । त्यतिमात्र नभएर अन्य मुलुकको गोप्य भ्रमण गर्नुपरेमा पनि यो परिवारले पहिलो केन्द्र थाइल्यान्ड बनाउँदै आएको छ ।
अघिल्लो बर्ष पनि छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित थाइल्यान्डको बैंकका पुगेका पूर्वराजा ज्ञानेन्द्रले हिन्दु धर्मका भारतीय गुरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिक रहेका व्यापारीसँगको भेट र छलफल गरेका थिए ।
बैंककमा पूर्वराजा ज्ञानेन्द्रले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरेको जनाइएको थियो ।
पूर्वरानी कोमलसहित सचिव सागर तिमल्सिना, अर्दली हस्तबहादुर मल्ल, सशस्त्र डिएसपी शिव राउतलाई पनि लगेका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यापारी सिद्धार्थ अम्बानीसँग भेट गरेका थिए ।
केही महिना अघि पूर्वराजा पोखरा, झापा, तराई मधेसलगायतका विभिन्न जिल्लाको भ्रमणमा रहँदा पूर्वयुवराज्ञी हिमानी शाह थाइल्यान्डमा नै थिइन् । छोरीहरू पूर्णिका र किर्तिकासहितको अध्ययनका लागि पनि उनी सो मुलुकमा लामो समय बसेको बताइन्छ । उच्च शिक्षाका लागि उनीहरू थाइल्यान्डको बैंककस्थित कलेजमा पढिरहेका छन् ।
त्यसो त निर्मलनिवासले थाइल्यान्ड भ्रमणको जानकारी गराएर अन्य मुलुकमा पनि भ्रमण गरेका तथ्यहरू बाहिर आएका थिए । थाइल्यान्ड इपिसेन्टर बनाएर पूर्वराजा ज्ञानेन्द्र र युवराज्ञी हिमानी शाहले अघिल्लो महिना माल्दिभ्स, श्रीलंकालगायतका मुलुक पनि भ्रमण गरेका थिए । कतिपयले भारतीय र अन्य मुलुकका अधिकारीसँगको गोप्य बैठकका लागि पनि थाइल्यान्डलाई सुरक्षित केन्द्रविन्दु ठानेर निर्मलनिवासका सदस्यको भ्रमण हुने गरेको बताउँछन् ।
त्यसो त पूर्वयुवराज पारस शाह पनि अर्को चक्करमा रहेका बेला लामो समय थाइल्यान्डमा बसेका थिए । उनी त्यहाँ बसेका मात्रै थिएनन्, लागु औषधको प्रयोग गरेको विषयमा जेल समेत परेका थिए । जसलाई छुटाउनका लागि सोही समयमा पूर्वयुवराज्ञी हिमानी शाहसम्म पुगेकी थिइन् । त्यसबेला यो जोडीको सम्बन्ध खासै राम्रो नरहेको विवरणहरूमा उल्लेख थियो ।
पूर्वराजपरिवारसँग थाइल्यान्डमा नेपाली नेताकै पनि जम्काभेट नभएका होइनन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वयुवराज्ञी हिमानीको जम्का भेट भएको थियो । धेरैले यसलाई अर्को अर्थमा बुझे पनि ओलीले जम्काभेट भएको प्रष्टोक्ति दिएका थिए । ओली मिर्गौला रोगको उपचार त्यहाँ गराइरहेका थिए । अहिले पनि नियमित चेकजाँचका लागि उनी बेलामौका त्यहाँ पुग्ने गरेका छन् ।
नेपालको राजनीतिक र व्यवस्था परिवर्तनका सन्दर्भमा मुलुकमा भन्दा बाहिर नै बढी भेटघाट र रणनीति बन्ने आशंकाबीच पूर्वराजपरिवारले निरन्तर थाइल्यान्डलाई केन्द्रविन्दु बनाउनु अर्थपूर्ण रहेको बताइन्छ ।















प्रतिक्रिया