
कृष्णनगर(कपिलवस्तु), २९ बैशाख । कपिलवस्तुको कृष्णनगरस्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन औपचारिक रुपमा उद्घाटन गरिएको छ । प्रहरी प्रधान कार्यालय प्रशासन तथा मानव स्रोत बिकास प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आइतबार भवनको उद्घाटन गरे ।
लामो समयदेखि संकुचित स्थानमा कार्यालय सञ्चालन गर्न बाध्य कृष्णनगर प्रहरी नव निर्मित भवनको उद्घाटनसँगै आफ्नै नयाँ भवनमा औपचारिक रुपमा सरेका प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए । २ करोड ४४ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको बोगटीले बताए ।
कार्यालय भवन उद्घाटन गर्दै राईले प्रहरी समाजसँग हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । जनतालाई मुस्कान सहितको सेवा दिने नेपाल प्रहरीको कर्तव्य भएको औल्याउँदै उनले आफ्नो संगठन समाजसँग सधैं उत्तरदायी भएर कार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाल भारत खुल्ला सीमाका कारण चोरी पैठारी बढेको हुन सक्ने भन्दै राईले प्रहरीको साथसाथै नेपाली जनताको पनि त्यसलाई रोक्ने काममा सहकार्य गर्न समेत आग्रह गरे ।
कृष्णनगर नगरपालिकाले नेपाल प्रहरी जवानको ब्यारेक बनाउनका लागि रकम छुट्टयाएको सुन्नमा आएको भन्दै अपुग रकम विभागले दिने उद्घोष गरे ।
कार्यक्रममा युएनओपिसका प्रतिनिधि यादव अधिकारी, ५ नम्बर प्रदेश प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी, कृष्णनगरकी उपप्रमुख शबनम खातुन लगायतले शुभकामना दिएका थिए ।












प्रतिक्रिया