
कावासोती, २९ बैशाख । नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ ।
नवलपुरको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी लिमिटेड र मध्यबिन्दु नगरपालिकामा रहेको भविष्य निर्माण साकोसबीच एकीकरण भएको हो । मध्यबिन्दु नगरपालिका वडा नं. ८ मा आयोजित कार्यक्रममा दुइवटा सहकारीको एकीकरण घोषणा गर्नुका साथै नयाँ सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ ।
सोहीक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटारका अध्यक्ष धनञ्जय शर्माले दुइवटा ब्यानर हटाएर एक आपसमा अङ्कमाल गरी एकीकरणको सन्देश दिए । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर–प्रमुख चन्द्रबहादुर रानाले एकीकरण पछि बनेको नयाँ सेवा केन्द्र किसानको भविष्य निर्माण सेवा केन्द्रको समुद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख रानाले सहकारी एकीकरणको सन्दर्भमा किसानले छुट्टै कीर्तिमान कायम गरेकोमा बधाई दिए । उनले परिवर्तित समयमा सहकारीले बचत सङ्कलनमा सीमित नभइकन उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी गुणस्तरीय सेवा दिन सबै स–साना सहकारीहरु एकीकरणमा जानुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले सहभागीलाई स्वागत गर्दै सानो पुँजीबाट सुरुवात भएको सहकारी हाल बिस्तार हुँदै १३ करोड ६ लाख ३ सय रुपैयाँ पुँजी सङ्कलन गरि ४१ हजार ८६ जनालाई सहकारीमा आवद्ध गराउन सफल रहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले विक्रम संवत २०५२ सालमा स्थापना भएको सहकारी हाल शेयर सदस्यको हातेमालोका कारणले विशाल सहकारी बन्दै अघि बढिरहेको बताउँदै अब्बल वित्तीय संस्थाका रुपमा विकासित गर्ने बताए । उनले नयाँ नयाँ प्रविधि अंँगाल्दै गइरहेको संस्थाले यसअघि नै १७ वटा सहकारीसंँग एकीकरण गरी नेपालको सहकारी इतिहासमा एकीकरणको सन्दर्भमा कीर्तिमान कायम गरिरहेको बताउँदै उत्कृष्ट बचत सहकारीको रुपमा परिचय कायम गरेको बताए ।
उनले सहकारीबाट दिगो रुपमा सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरी एकीकृत र गुणस्तरीय सेवा प्रदान गर्न अघि बढेको बताए ।कार्यक्रममा जिल्ला बचत संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतम, मध्यविन्दु नगरपालिकाका नगर शिक्षा प्रमुख देवराम अर्याल, किसान फाउन्डेसनका अध्यक्ष गोपाल गौतमलगायतले किसान साकोसले उत्कृष्ट सहकारीको परिचय कायम राखिरहेको भन्दै सहकारीका सबै शेयर धनीलाई बधाइ ज्ञापन गरे ।












प्रतिक्रिया