
काठमाडौं, २७ बैशाख । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् ।
आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्विविधा नभएको पनि स्पष्ट पारे ।
उनले सरकारको आर्थिक वर्ष २०७६÷७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३ औँ साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए ।
हिजोमात्रै आफ्नै अध्यक्षतामा प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए । उनले भने, ‘हिजो बसेको समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं ।’ त्यतिमात्रै नभए प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले जनाए ।
मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताए । उनले भने, ‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौँ । यो प्रतियोगिताको विगतलाई हेर्दापनि हाम्रो गर्विलो ईतिहास छ । १९९९ मा नेपालले दोस्रो स्थान हाँसिल गरेको थियो । १८ औं एशियन गेममा पनि नेपालले ३३ औं स्थान हासिल गरेको थियो । नेपालले २० वर्षपछि रजतपदक हाँसिल गरेका थियो ।’
मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बावजुदपनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे । उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे ।
उनले भने, ‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ ।’ त्यस्तै, तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनौट गर्नेपनि उनले जनाए । उनले भने, ‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं ।’ प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने पनि उनले स्पष्ट पारे ।
काठमाडौं उपत्यकाभित्र खेलकुद भौतिक संरचना बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया समेत सरकारले सुरु गरिसकेको उनको भनाई छ । त्यस्तै, ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि उनले जनाए । त्यसको लागि आगामी बजेटमै सबै कुराको उचित व्यवस्था गरिने पनि उनले स्पष्ट पारे ।












प्रतिक्रिया