काठमाडौं, २६ वैशाख । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले पदको दुरुपयोग गरेर आफ्ना गतिविधिहरूलाई चलाएपछि परिषद्भित्र असन्तुष्टि बढेको छ ।
परिषद्लाई ढुंगेलले आफू निकटकालाई मात्रै काखी च्यापेपछि असन्तुष्टि र आलोचना बढेको हो । परिषदको गतिविधि र कार्यक्रम सञ्चालनमा पनि ढुंगेलले अपरादर्शी बनाएर लाभ लिने गरेको स्रोतले जनाएको छ ।
विदेशबाट स्वदेश आएका युवाहरूलाई लक्षित गरेर ढुंगेलले परिषद्को रकम खर्च गरी ‘रिटर्नी माइग्रेन्ट नेपाल’ नामक संस्था स्थापना गरेका थिए । यो संस्थामा नेकपा निकटका युवाहरू आबद्ध छन् ।
रिटर्नी माइग्रेन्ट नेपाललाई ढुंगेलले चलाउने गरेको आरोप छ । विदेशबाट स्वदेश फर्किएका युवाहरूलाई रिटर्नी माइग्रेन्टमा समावेश गरेर रोजगारीमा लगाउने भनिएको छ । तर, स्थापना हुँदादेखि नै रिटर्नी माइग्रेन्टलाई ढुंगेलले निकम्मा बनाएको आरोप छ ।
रिटर्नी माइग्रेन्टलाई राजनीतिकमुक्त स्वतन्त्र संस्था बनाएर काम गर्ने आश्वासन दिइएपनि कांग्रेस निकटका युवाहरूलाई छेउछाउ पर्न नदिएपछि रिटर्नी माइग्रेन्ट नामक संस्था फुटको संघारमा पुगेको छ ।
नेपाली कांग्रेसका युवाहरूले रिटर्नी माइग्रेन्ट जस्तै अर्को संस्था बनाएर युवाहरूको पक्षमा काम गर्ने तयारी गरेका छन् । अर्को संस्था बनाउनका लागि गृहकार्य समेत शुरु भइसकेको बुझिएको छ ।












प्रतिक्रिया