
काठमाडौं, २५ बैशाख । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ ।
मञ्चले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले भने, ‘भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएका छन् । जसले उठीवासको अवस्था सिर्जना गरेको छ । यसको छानबिन गरि अबैध रुपमा भएका जग्गा दर्ता खारेज गरिनुपर्छ । भोगकर्ताको नाममा त्यसको स्वामित्व दिनुपर्छ ।’
दर्जीले सबै खालका भूमि समस्या समाधान हुनेगरि तीनवटै तहमा स्वतन्त्र र अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने र समुदायले बुझ्ने भाषामा नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्ने माग राखे ।
मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले भूमिमाथिको बेथिति सिर्जना गर्ने जोकोहीलाई पनि राज्यले कारवाहीको दायरामा ल्याई न्याय, सुशासन र समृद्धिको अभियान शुरु गर्नुपर्ने माग राखिन् । उनले भनिन्, ‘देशैभरि भूमाफियाहरुको विरोधमा हामी जुटेका छौं । अहिलेपनि वर्षौदेखि खेतिपाती गर्नेहरुको स्वामित्वमा जमिन छैन ।’
उनले आफूहरुले अहिले देशका ५९ वटा जिल्लामा सक्रियताका साथ काम गरिरहेको पनि जानकारी गराइन् । उनका अनुसार मञ्चले विभिन्न माग राखेर देशका ३२ वटा जिल्लाका विभिन्न मालपोत कार्यालयहरुमा आज मात्रै विरोध प्रदर्शन गरेको छ ।
राज्यले भूमिको व्यवस्थापन गर्न नसक्दा वन, बाटो, सरकारी, सार्वजनिक क्षेत्रमा पनि वर्षौदेखि मानिसहरु बसोबास गर्दै आएको जनाउँदै मञ्चले स्थानीय सरकारको अगुवाई समुदायकोसमेत संलग्नतामा उनीहरुको पहिचान गरि वैकल्पिक व्यवस्था गरिनुपर्ने माग गरेको छ । त्यस्तै, मञ्चले सरकारी तथा सार्वजनिक जग्गालाई विद्यमान परिवेशअनुसार परिभाषित गरि बसोबासयोग्य जग्गा भोगकर्ताको नाममा दर्ता गरिनुपर्ने पनि माग गरेको छ ।
मोही, बिर्ता, गुठीजस्ता समस्या समाधान हुनेगरि व्यवहारिक नीति र संरचना निर्माण गरिनुपर्ने, आवासबाहेकको जग्गा उपभोगको योजनाअनुसार उपलब्ध गराउने नीति लिनुपर्नेपनि मञ्चको माग छ ।
मञ्चले बालुवाटारको जग्गा बिक्रि हुनु, राजधानीको खुलामञ्च कब्जा हुनु र यसमा उच्च तहको जिम्मेवार व्यक्ति र जनप्रतिनिधिको नै संलग्नता जोडिनु जटिल स्थितिको संकेत भनेको छ ।
मञ्चले भूमि समस्याले नेपालको सांस्कृतिक आस्था र सामाजिक विश्वासमाथि पनि अन्याय भैरहेको टिप्पणी गरेको छ । भूमिमाथिको बेथितिले गरिबहरु सबभन्दा बढि मारमा परेको पनि मञ्चले जनाएको छ ।












प्रतिक्रिया