५ कार्तिक २०८३, बिहिबार

एसएसपी सिंहको सरुवासँगै मिटरब्याज, डन र गुण्डाहरूको घरमा खुसियाली

45.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंबाट एक वर्षे कार्यकाल पूरा गरी एसएसपी धिरजप्रताप सिंहको सुरुवा भएको छ । सिंहलाई एसएसपी सहकुल थापाले रिप्लेस गरेका छन् । सिंहको ठाउँमा कमाण्ड सम्हाल्न आएका थापालाई राजधानीको शान्ति सुरक्षा बनाउन कम चुनौती छैन ।

भरखरै निर्वाचन सम्पन्न भएर देशले राजनीतिक स्थायित्वमा गति लिँदै गर्दा काठमाडौं उपत्यकाभित्र शान्ति सुरक्षा बनाउन र आपराधिक समूहलाई निगरानी गरी कार्यसम्पादन गर्नु चुनौतीपूर्ण थियो ।

यो चुनौतीलाई आफू मातहतका प्रहरी कर्मचारीलाई परिचालन गरेर एसएसपी सिंहले काम गर्न सफल भएको महाशाखाको भनाइ छ । सोमबारदेखि एसएसपी सिंह प्रहरीको तालिम शाखामामा सरुवा भएका छन् ।

सिंहको स्थानमा एसएसपी थापाले जिम्मेवारी पाएका छन् । एसएसपी सिंहले बनाएको बाटोलाई पछ्याएर शान्ति सुरक्षा बनाउन थापालाई सहज हुनेछ ।

शान्ति सुरक्षा बनाउने क्रममा एसएसपी सिंहको कार्यकालका बेला ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको थियो । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेर पक्राउ गरिएको थियो ।

सिंहले नै राजधानीभित्रका गुण्डा, कथित डनसहितका आपराधिक समूहको सूची तयार पारेर कारबाही चलाएका थिए । सोही कारण एसएसपी सिंहको पालामा धेरै ठूला काण्ड हुन पाएनन् । भएपनि प्रहरीले समयमा केश सुल्झाएको थियो ।

प्रहरीको टार्गेट सूचीमा गुण्डा नाइके, छोटो समयका लागि ऋण परिचालन गरी चर्को ब्याज असुल्ने मिटरब्याजीदेखि लुटेरासम्मलाई सिंहले निगरानी बढाएका थिए ।

शुरुमै एसएसपी सिंहले गुण्डागर्दीविरुद्ध ५ वटा अपरेशन गरेका थिए । त्यसपछि आपराधिक मनस्थिति भएकाहरूको मनोबल गिरेको थियो ।

अपराध महाशाखाले असार ७ गते काठमाडौंका मूलपानीमा ‘खुँडे’ भनिने अमरबहादुर तामाङलाई नियन्त्रणमा लिइएको थियो । उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको थियो ।

असार १५ गते कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेपछि टोलेगुण्डाहरूको समूह भागाभाग हुन पुगेको थियो ।

भारतीय नागरिकलाई प्रयोग गरी छलकपटपूर्ण रुपमा जुवा जित्न मेसिनको प्रयोग गर्ने धन्दामा सक्रिय गुण्डा नाइके कबिन शाक्यले अबैध तरिकाबाट कमाएको पैशा क्रसर र बालुवामा लगानी गरेका हुन ।

उनको अबैध सम्पत्तिको बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सम्पत्ति शुद्धीकरण बिभागसँग समन्वय गरी छानविन गर्ने तयारी गरेसंगै प्रहरीमा सेटिङ गराउन एउटा गिरोह लागिपरेको स्रोत वताउंछ ।

सिआईबीले केही बर्षअघि राजधानीका अधिकांश गुण्डाहरुले अवैध कामबाट अकुत सम्पत्ति आर्जन गरेको प्रमाणसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा दायर गरेको थियो ।

महानगरीय अपराध महशाखाले जेठ २७ गते मिटरब्याजीका गुण्डा नाइके ‘बले’ भनिने बलराम सापकोटा, आङकाजी शर्पा र रघुनाथ पुरीले प्रशासनबाट लाइसेन्स लिएर राखेका हतियार जफत गरेको थियो । लाइसेन्स लिएर राखेका हतियारको दुरुपयोग गरेको भन्दै अपराध महाशाखाले उनीहरुबाट हतियार जफत गरेको थियो ।

महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंहबाट ६ जान हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर सिंहले मिटर ब्याजको धन्दा चलाइरहेका थिए ।

त्यस बेला प्रहरीले राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा आसपासका काभ्रे, नुवाकोट, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा गरी गुण्डागर्दीमा सक्रिय रहेका २५० जनाको सूची तयार पारेको थियो ।

उनीहरूले गर्ने काम, दैनिक गतिविधि, सम्पर्क सम्बन्ध, उजुरी लगायतका आधारमा प्रहरीले सूची तयार गरेको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खाली मातहत तीन दर्जन गुण्डा संगठित छन् ।

काभ्रेली समूहका गुण्डा नाइके गणेश लामाको नेतृत्वमा पनि करीव तीन दर्जन गुण्डा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

चक्रे भनिने मिलन गुरुङको समूहमा करीव ३०–३५ गुण्डाहरू सक्रिय छन् । बाघे लामाको समूहमा ११ सदस्य छन् । गुण्डा नाइके प्रवीण प्रधानको समूहमा १० सदस्य छन् ।

समिरमान सिंह बस्नेत, रोज राणा, दावा लामा, राधे भण्डारी, साजन महर्जन, अभिमानसिंह बस्नेत, आशिष राई, युद्ध लामा, अनिले हेक्का, कृष्ण खड्का लगायत पनि सानो–सानो गिरोह बनाएर गुण्डागर्दीमा संलग्न रहेको महानगरीय अपराध महाशाखा काठमाडौंको तत्कालीन एसएसपी सिंहले सूची तयार पारेका थिए ।

गुण्डा नाइके सगुन श्रेष्ठको समूहलाई पनि प्रहरीले निगरानीमा राखेको थियो ।

सगुनबाहेक बमबहादुर श्रेष्ठ, निरञ्जन खड्का, राहजु श्रेष्ठ, प्रेम श्रेष्ठ, रवि सिलवाल लगायतले पनि छुट्टै समूह बनाएर धन्दा चलाइरहेको प्रहरी स्रोतको भनाइ छ । अपराध महाशाखामा सिंह रहँदासम्म दुलोभित्र पसेका गुण्डा नाइकेहरूले फेरि सलबलाउने तयारीमा लागेको स्रोतको भनाइ छ ।

प्रहरीको सूचीमा रहेका गुण्डा नाइकेहरुले बाहिरबाट देखिने गरी कोही रेस्टुरेन्ट त कोही क्रसर व्यवसायमा संलग्न छन् ।

केहीले ढुङ्गा–बालुवाको डिपो पनि सञ्चालन गरेका छन् । तर उनीको भित्री धन्दा भनेको छोटो समयका लागि ऋण दिएर चर्को ब्याज असुल्ने (मिटर ब्याज), ठेक्का–पट्टाबाट कमसिन लिने, जुवा खेलाउनेदेखि अपहरण गरेर फिरौती असुल गर्नेसम्मका छन् ।

सर्वसाधारणको उजुरीका आधारमा केही गुण्डानाइकेहरु थुनामा परेपनि प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताको दवावमा छाटो समयमै रिहा हुन्छन् । थुनाबाट रिहा भएपछि उनीहरु पुनः गुण्डागर्दीमै संलग्न हुन्छन् ।

एसएसपी सिंहको कदमले सान इन्टरनेसनल ग्रुप प्रालि र एबी इम्प्लोइमेन्ट सोलुसन प्रालिका सञ्चालक अजित भनिने देशभक्त बस्नेत समस्यामा परेका थिए ।

१९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । यसपछि बिभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । गुण्डा छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएका थिए ।

अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमान पक्राउ परेका हुन् ।

एसएसपी सिंहले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पनि पक्राउ गरेर कारबाही चलाएका थिए ।

यसअघि महाशाखाले पक्राउ गरेको बस्नेत समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको थियो ।

ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही चलाएको थियो ।