
काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् पूर्व मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् ।
सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले यस्तो बताएका हुन् । नेपालको राष्ट्रिय झण्डा विश्वसामु अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाकपनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाई छ ।
उनले भने, ‘विश्वको जुनसुकै कुनामा दौरा–सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ ।’ तामाङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा नेपाली भाषामै सम्बोधन गरेको सुनाउँदै राष्ट्रपतिको उक्त सम्बोधनले नेपालको राष्ट्रियता बोकेको सुनाए । उनले भने, ‘यसको लागि राष्ट्रपतिज्यूलाई धन्यवाद छ ।’
तामाङले आफ्नो मौलिकतामा गर्व गर्ने बानीको विकास गर्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘हाम्रो राष्ट्रिय नेपाली पोशाकले हामीलाई पहिचान दिनेछ । यो पोशाकमा कहीँकतै पनि खोट लगाउने ठाउँ छैन । दौरा–सुरुवालमै हामी सबै नेपालीहरुलाई सुहाउँछ ।’
विश्वकै शक्तिशाली राष्ट्र चीनका राष्ट्रपतिले पनि विश्व मञ्चमा आफ्नै मातृभाषामा सम्बोधन गर्ने गरेको भन्दै चिनियाँ राष्ट्रपतिको उक्त कदमबाट नेपालीहरुले पनि सिक्नुपर्ने उनले सुनाए ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा जनकपुरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित् भारतीय दुतावासमै लुगाको नापजाँच गरेर मोदीकै जस्तो नक्कल गरेको आरोप लगाए ।
उनले भने, ‘नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलेजस्तै पोशाक लगाएर जानुले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ । भारतप्रति उहाँले लम्पसार पर्नुभयो । र, त्यो उहाँको आत्मसमर्पणवादी कदम हो । यदि उहाँले त्यो ठाउँमा एउटा मात्रै भादगाउँले टोपी उपहार दिएर मोदीलाई पनि लगाउन दिएको भए त्यतिवेला हामी उहाँको राष्ट्रियताप्रति वाहवाही गर्दथ्यौं ।’
खतिवडाले आफू ०७० सालमा सांसदमा निर्वाचित हुँदा संसद बैठकको सुरु दिनदेखि अन्तिम दिनसम्मपनि राष्ट्रिय पोशाकमै उपस्थिति भएको सुनाए । नेताहरुले पनि आफ्नो देशको पहिचान जोगाउनुपर्ने उनले सुझाए ।












प्रतिक्रिया