१९ कार्तिक २०८३, बिहिबार

सबै त्यागेर म जंगल जान सक्छुः प्रचण्ड

16.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै त्यागेर जङ्गल जान सक्ने बताएका छन् ।

राजधानीमा कार्ल मार्क्सको २ सय १ औँ जन्मस्मृति कार्यक्रममा आयोजित समृद्धि र समाजवादः हामी कहाँ छौँ ?’ विषयक विमर्श कार्यक्रममा उनले जंगल जाने कुरा गरेका हुन ।

प्रचण्डले भने, ‘मैले जसरी भन्न खोजेँ । मेरा केही बुझाई । भावना अनुभवहरु सेयर गर्ने हिसाबले प्रस्तुत भएँ । र म के ठान्छु भने, फेरि एक पटक सम्पूर्ण चिज त्याग गरेर जङ्गल जान्छु भन्ने विश्वास छ । जरुरी परे ।’

उनले भने, ‘मलाई गाह्रो लाग्दैन । कतिपयलाई के लाग्छ भने, यत्रो भइसक्यो के गर्ने ? कसरी सकिन्छ भने जस्तो पनि हुन्छ । मलाई चाहिँ साँच्चै हेर्नु होला, कमरेडहरु तपाइँहरूको साथ चाहिन्छ, साथ रहेन भने एक्लै जोगी बन्न त जान्न । जोगी भएर हुने कुरा त छैन । तपाइँहरू साथमा हुनुभयो भने एउटा क्लाइमेक्समा पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचार छ ।’

‘हामीले ग्रेट डिवेट सुरु गर्नैपर्छ । कहिलेकाहीँ मलाई लाग्छ, सम्पूर्ण कमरेडहरू यो महान डिबेटमार्फत, महान पार्टी बनाउने कुरा हो । महान आन्दोलन श्रृष्टि गर्ने, महान पार्टी बनाउने कुरा हो । तपाई हामीले सकेनौँ भने मैले भनेको छु, वैचारिक रुपमा यतिबेला हामी अफेन्सिभ ठाउँमा छौं । हामीले त्यो विचार र संस्कृति निर्माण गर्न सकेनौँ भने ५० औँ वर्ष दुनियाँमा अर्को विचार बनाउन सजिलो देखेको छैन’, उनले भनेका छन ।

‘म अपील गर्दछु, साच्चै एउटा ठूलै रणनीति, सपना बोकेर पार्टी एकता गरियो । प्रधानमन्त्री बन्न पार्टी एकता गरिको होइन । यो सरकार कब्जा गर्न मात्र पार्टी एकता गरिएको होइन, एउटा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नका लागि, एउटा बहसमार्फत विचारलाई परिमार्जन गर्नका निम्ति र समाजवादी आन्दोलनको नयाँ युगतिर लैजाने र नेपालबाट संसारभरिका श्रमजीवीहरूलाई सन्देश दिने गरी एकता गरिएको हो’, दाहालले भनेका छन ।