
काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् ।
उनले भने, ‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको पनि आरोप लगाए । उनले भने, ‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’
उनले नीति तथा कार्यक्रम एक वर्षको लागि भएकोले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि टिप्पणी गरे । उनले भने, ‘दुई घण्टा लामो भाषण गरियो । यति लामो भाषण त नेपालको ईतिहासमा कहिल्यै भएको थिएन ।’
त्यस्तै उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि स्पष्ट पारे । महतले भने, ‘यो जनताको सरकार हो ।’ आफ्नो पार्टीनिकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याइएको पनि उनले गुनासो पोखे ।
उनले थपे, ‘नेपाली काँग्रेसले पछिल्लो २५–३० वर्षको ईतिहासमा १६–१७ वटा नीति तथा कार्यक्रम ल्याइसकेको छ । तर, हामीले कहिल्यै पनि नेताका नाममा धेरै कार्यक्रमहरु ल्याएनौं । विपीको नाममा एक/दुई वटा अस्पताल, शिक्षालगायतका कार्यक्रमहरु ल्यायौं । अरु कुनै घोषणा गरेनौं ।’
डा. महतले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा धेरै कार्यक्रमहरु ल्याइएकोप्रति असन्तुष्टि पोखे । केन्द्र, प्रदेश तथा स्थानीय सरकारबीच अधिकार बाँडफाँडको पनि समस्या रहेको उनको भनाई छ । सरकारले फजुल खर्च रोक्न नसकेको र बजेटको दुरुपयोग धेरै भएको पनि उनको टिप्पणी छ । चार वर्षअघिदेखि सुरु गरिएको विरगन्ज–रक्सौल पेट्रोलियम पाईपलाईनको कामलाई पनि यही सरकार आएपछि गरेको भनेर अनावश्यक दाबी गरेको पनि महतले आरोप लगाए ।
सरकारले संस्थागत क्षमता र कार्यान्वयन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने पनि उनको सुझाव छ । उनले भने, ‘सायद यसबारेमा सरकारलाई जानकारी नै छैन । त्यसैले सबैभन्दा ठूलो कुरा मुलुकको कार्यान्वयन क्षमता बढाउनुपर्छ । प्रशासनिक क्षमता दिनप्रतिदिन घटिरहेको छ ।’












प्रतिक्रिया