काठमाडौं, २० वैशाख । नेपालले एसियाली मुलुकहरूबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
यी मुलुकहरुबीचको सहकार्य अझ बढी प्रभावकारी र उपयोगी बनाउन जलसञ्जालमा जोडिनुपर्ने प्रस्ताव नेपालको छ ।
कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी) को १६ औं मन्त्रिस्तरीय बैठकमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नतेले एसिया महाद्विपका सबै मुलुकलाई एउटै मञ्चमा आवद्ध गरी समग्र एसियाको विकासमा सदस्य राष्ट्रहरुबीच सहकार्य तथा एकता प्रवर्द्धन गर्न आग्रह गरे ।
मन्त्री बस्नेतले सदस्य राष्ट्रहरुमा हितका विविध पक्षहरूको प्रवर्द्धन गर्दै क्षेत्रीय सहयोग एवं व्यापार, पर्यटन, एवं लगानी प्रवद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तारमा समेत पारस्परिक सहकार्यका पक्षमा नेपाल रहेकामा जोड दिए ।
उनले जलवायु परिवर्तनको असरले साना तथा अल्पविकसित मुलुकहरुमा आइपरेको जोखिम एवं प्राकृतिक विपत्तिजस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि सबै एसियाली मुलुक एकजुट हुुनुपर्ने विचारसमेत व्यक्त गरे ।
बैठकले दोहा घोषणापत्र जारी गर्दै दिगो विकास तथा शान्ति, कनेक्टिभिटी, व्यापार तथा पारवहन सहजीकरण, पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्राकृतिक विपद व्यवस्थापन, साइबर सुरक्षा, आतंकवाद नियन्त्रणविरुद्धको सहकार्य, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुमा सहकार्यको घोषणा गरेको छ । एसिया महाद्विपका मुलुकहरुबीच एउटै मञ्चमा अवद्ध भई विभिन्न विषयमा सहकार्यका लागि सन् २००२ मा एसिडी गठन भएको हो ।
उक्त मञ्चमा नेपाल सन् २०१६ मा सदस्य बनेको थियो । मञ्चमा एसियाका ३४ राष्ट्र सदस्य छन् ।
नेपाली मजदुरका समस्याबारे चासो
बैठकपछि बुधबार साँझ मन्त्री बस्नेत नेपाली दूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी भएका छन् ।
त्यस क्रममा उनले नेपाली मजदुरका अवस्था एवं उनीहरुका हकहितका विषयमा छलफल गरे । त्यस क्रममा नेपालका लागि कतारका राजदूत तथा कर्मचारीहरुसँग नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, दूतावासको सेवाप्रवाहको अवस्था एवं नेपाली श्रमिकहरुका सरोकारका विविध विषयमा मन्त्री बस्नेतलाई जानकारी दिइएको थियो ।












प्रतिक्रिया