
काठमाडाैँ, १४ बैशाख । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भोजमा संक्षिप्त भेट भएको छ।
बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा आफूले निम्त्याएका राष्ट्र–सरकार प्रमुख लगायतका नेताहरूलाई चीनका राष्ट्रपति सीले शुक्रबार ग्रेट हलमा रात्रीभोज आयोजना गरेका हुन्।
रात्री भोजमा स्वागत गर्ने क्रममा राष्ट्रपति सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सहित करिब ३७ देशका राष्ट्र–सरकार प्रमुख र नेताहरूसँग छुट्टाछुट्टै र सामुहिक तस्वीर लिएका छन्।
राष्ट्रपति सीले पत्नी पेङ लियुआनलाई बायाँपट्टी राखेर ग्रेट हलको त्यो ग्रेट डिनरका प्रायः सहभागीसँग छुट्टाछुट्टै तस्वीर लिए। त्यही क्रममा सामुहिक तस्वीर पनि लिइयो।
राष्ट्रपति भण्डारी र सीबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । डिनरमा नेपालकी राष्ट्रपति भण्डारीसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान, म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत देखिएका छन्।
बिहिबार सुरु भएपनि शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको बीआरआई सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले बीआरआईले कनेक्टिभिटि र व्यवहारिक सहकार्यलाई बढाउने बताएका थिए।
शुक्रबार दिउँसो सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले हिमालय क्षेत्रमा कनेक्टिभिटि बढाउन सिमापार रेलमार्ग महत्वपूर्ण रहेको बताएकी थिइन।
शनिबार बिहानै बीआरआई सम्मेलनको अर्को सत्र सुरु भएको छ । बेइजिङकै अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको यो सत्रमा राष्ट्रपति भण्डारी लगायतका नेतालाई सीले स्वागत गरेका छन् ।















प्रतिक्रिया