
काठमाडौं । आफू निर्मित फिल्मको ट्रेलर रिलिजका क्रममा मिलन चाम्स अलिक आक्रामक देखिए । वीर विक्रम–२ विरुद्ध षडयन्त्र भएको खबर आफूले पाएको बताउँदै उनले भने,‘सातामा एउटा मात्र नेपाली फिल्म चलोस् भन्ने मेरो चासो थियो ।’
चाम्सका लागि यो झड्का लाग्ने विषय यसै थिएन । यहि झोंकमा ढिलोगरी कार्यक्रममा आएका उनकै फिल्मका अभिनेता पल शाहलाई नआउन भनिदिएको पनि आक्रोशित मुद्रामा सुनाए ।
चाम्स्को यो आक्रोशको पछाडी अरु केही नभएर, ३ जेठमा रिलिज हुन लागेको अर्को फिल्मसँग जुध्नुपर्ने बाध्यताको थियो । यस्तो उस्तो नभएर पुरै बजार खानसक्ने फिल्म ‘जात्रै जात्रा’ सोही मितिमा रिलिज हुन लागेको हो ।
सिनेमा घरहरूले पनि चाम्सको वीरविक्रम–२ को तुलनामा जात्रै जात्रालाई बढी शो दिने सहज अनुमान गर्न सकिन्छ । दुवै सिक्वेल भए पनि जात्राको अघिल्लो संस्करण वीर विक्रम भन्दा निक्कै नै चर्चित भयो र पैसा पनि कमायो ।
जात्रैजात्रा विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, दयाहाङ राई जस्ता चलेका कलाकार र कमेडी सेरियस फिल्म हो । यता वीरविक्रम–२ मा भने नाजिर हुसैन, बुद्धि तामाङ, पल शाहलगायत छन् । यसै पनि कलाकारको भागवन्डालाई अनुमान गर्ने हो भने जात्रैजात्राले नै धेरै दर्शक तान्न सक्ने आम साधारणकै प्रतिक्रिया छ ।
राउतको भाग्य, सिवाकोटीलाई झड्का !
नेपाली फिल्ममा अभिनेत्रीको भाग्यचाहिँ फिल्मको कमाई र सफलतासँग जोडिने गरेको छ । उद्योगमा रहेका दुई अभिनेत्री बर्षा राउत र बर्षा सिवाकोटीका हकमा यो तुलनात्मक विश्लेषण हुने गरेको छ ।
राउतले निरन्तर फिल्म पाइरहेकी छन्, चुजी नभए पनि उनको फिल्म चलि नै रहेका छन् । तर, सिवाकोटीका हकमा उनको आशा गरिएको वीर विक्रम–२ को व्यापारमा धक्का लागे उनको करिअरका शीलशीलामा पनि निराशा छाउनेछ । किनभने हालै मात्र रिलिज भएको सिवाकोटी अभिनित ‘पुरानो बुलेट’ले राम्रो व्यापार गर्न सकेन ।
सिवाकोटी फिल्मका लागि चुजी बन्दै जाँदा वीर विक्रम–२प्रति उनको ठूलो आशा छ । ट्रेलरका हिसाबमा दुवै फिल्मले दर्शक तान्न सक्ने अपेक्षा गरिए पनि एकै मितिमा रिलिज हुने र जुध्ने भएका कारण जात्रैजात्राको पल्ला भारी हुनसक्ने फिल्म समिक्षकहरू बताउँछन् ।
त्यतिमात्र हैन, नेपाली फिल्मको गएको बर्षलाई तुलना गर्ने हो भने कमेडी जनराले नै बक्स अफिसमा तहल्का मच्चाएका थिए । यस्तो अवस्थामा यी दुवै फिल्म एकसाथ रिलिज हुँदा दर्शकले कमेडी रोज्दा सिवाकोटीलाई दाँतमा ढुङ्गा र राउतलाई करिअरमा फूल नमिल्ला भन्न सकिन्न ।















प्रतिक्रिया