१९ कार्तिक २०८३, बिहिबार

उदयपुरमा औँलोको खतरा कायमै, सजग रहन चिकित्सको आग्रह

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


उदयपुर, १२ बैशाख । छिमेकी जिल्लाका कारण उदयपुर मेलेरिया (औँलो)को उच्च जोखिममा रहेको छ । पछिल्लो तथ्यांकले औँलो रोगीको तथ्यांक शून्यमा आएपनि जोखिम भने नघटेको स्वास्थ्य कार्यालयको भनाई छ ।

विश्व औँलो रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षदेखि औँलो शून्य रहेको देखाएको छ ।

स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा बेलका नगरपालिका ७ मैनामैनीमा एक जना मात्र औँलोको विरामी फेला परेका छन् । त्यो पनि जिल्ला बाहिरबाट रोग लिएर आएको स्वास्थ्य प्रम्रुख रमेश खकुरेलले जानकारी दिए ।

उदयपुर जिल्ला पनि भित्रि मधेशअन्तरगत पर्ने भएकाले जोखिम भने निकै रहेको उनको भनाई छ । सिरहा, सप्तरी लगायतका छिमेकी जिल्ला अझैपनि औँलोको हिसावले खतरा जिल्ला नै रहेकाले जुनसुकै जतिबेला पनि संक्रमण फैलन सक्ने खतरा रहेको प्रमुख खकुरलको दावी छ ।

औँलो रोग लामखुट्टेबाट लाग्ने भएकाले गाउँघर वरीपरी सफा राखी वातावरण नै स्वच्छ बनाउनु पर्ने, खाल्टा खुल्टी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने जस्ता बिषयमा संवेदनशिल हुन उनले आग्रह गरे ।

औँलो रोग लागेपछि काम ज्वरो आउने, शरीर रातो हुने लगायतका लक्षणहरु देखा पर्ने गर्दछन् । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा १ नम्वर प्रदेशमा २४ जना व्यक्तिलाई औँलो रोगको संक्रमण देखापरेको छ । देशैभरिका ७ वटै प्रदेशमा १ हजार १ सय ८७ जनामा औँलो रोग फेला परेको तथ्याङ्कले देखाएको छ ।

विश्वभर ४ लाख ५० हजार मानिस औँलो रोगको विरामी रहेको तथ्याङ्कले देखाएको छ ।