१९ कार्तिक २०८३, बिहिबार

परासीमा पहिलो पटक लघु, घरेलु तथा साना उद्योग महोत्सव

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


परासी, १२ बैशाख । जिल्लाभित्रका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा पहिलो पटक लघु, घरेलु र साना उद्योगलाई केन्द्रीत गरी महोत्सव सञ्चालन हुने भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महोत्सवले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासी र जिल्ला महिला उद्यमी समितिले स्थानीय उत्पादनलाई मात्रै महत्व दिएर जिल्लामै पहिलो पटक लघु, घरेलु तथा साना उद्योग महोत्सव एवं प्रविधि प्रर्दशनी सञ्चालन गर्न लागेको महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले बिहीबार परासीम पत्रकार सम्मेलन गरी जानकारी दिए ।

यही वैशाख १८ देखि २२ गतेसम्म जिल्ला सदरमुकाम परासीमा आयोजना हुने महोत्सवको तयारी तीव्र रुपमा भइरहेकोे छ । चालीस स्टल र दुई करोड बरावरको कारोबार हुने लक्ष्य राखिएको महोत्सवलाई बीस हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष गौतमले बताए ।

उनले भने, ‘विशेषगरी यहाँका लघु तथा घरेलु उद्योगबाट उत्पादीत वस्तुको प्रर्वद्धन हुन नसक्दा उचित बजारीकरण भएको छैन, प्रचारप्रसार र अवसरको कमीले जिल्ला भित्रै ती वस्तुले बजार पाएका छैनन् भने उद्यमीहरुले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।’

जिल्लाभित्रका उत्पादनलाई प्रवद्र्धन गर्दै उद्यमीलाई प्रोत्साहन गर्न जिल्लामा पहिलो पटक लघु तथा घरेलु उद्योगलाई लक्षित गरी महासङ्घले उद्योग महोत्सव एवं प्रविधि प्रर्दशनी आयोजना गरेको उनले बताए ।

प्रर्दशनीमार्फत लघु उद्यमीले उत्पादन गरेका मौलिक वस्तुको दीगो बजार पहुँच हुने, अन्य व्यक्तिलाई पनि उद्यमी बन्न प्रेरित गर्ने, उद्यमी–उद्यमीबीच सहकार्य र सम्पर्क बढ्ने, नविन खोज अविस्कार तथा अनुसन्धानमा टेवा पुग्ने महासङ्घ रामग्राम नगर समितिका अध्यक्ष एवं महोत्सव प्रवक्ता मुुक्ति पौडेलले बताए ।

स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योगलाई मात्रै महत्व दिएर महोत्सव आयोजना गरिएपछि जिल्लाका लघु उद्यमीहरु पनि उत्साहीत देखिन्छन् ।

महोत्सवमा उद्यमीहरुले उत्पादन गरेका मौलिक घरेलु वस्तुसहित उत्पादनमा प्रयोग हुने प्रविधिको समेत स्वयम् उद्यमीले नै प्रद्र्धशन गर्नेछन् । उद्यमीले स्टल प्रयोग गरेवापत शुल्क लाग्ने छैन भने उद्योगबाट प्रविधि प्रर्दशनी स्थलसम्म ल्याउँदा लाग्ने यातायात खर्चसमेत आयोजकले व्यहोर्ने गरी व्यवस्था मिलाइएको महासङ्घका कार्यक्रम अधिकृत रमेश भुसालले बताए ।

पश्चिम नवलपरासीमा ढाकाका कपडा, पटेर, काठ÷ढुङ्गा÷धातुका कलात्मक वस्तु, भाँडाकुँडाहरु, बाँस वेतवासबाट निर्मित सजावटका सामानहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, कृषि तथा वनमा आधारित उत्पादनहरु, मह, माटोका भाँडा, ढिकी जाँतो, मोहि पार्ने ठेकी, वेल जुस लगायतका मौलिक वस्तुहरुको उत्पादन हुँदै आएको महासङ्घका केन्द्रीय सदस्य बुद्धिमाया सुनारले जानकारी दिइन् ।