काठमाडौं, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।
गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । अघिल्ला राष्ट्रपति डा.रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन् । बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ ।
अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आएलगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो । तर चीनले त्यही सम्मानका लागि झन्डै १० वर्ष लगाएको हो । चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ ।
राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीनतर्फ जानेछिन् । उनी एक दिन सान्सी प्रान्तमा बस्नेछिन् । त्यो राष्ट्रपति सी चिनफिङको सहर हो । भण्डारी भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ ।
नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ । तर अन्तिम रूप पाएको छैन । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।












प्रतिक्रिया