
-बिजय चालिसे
कावासोती, ६ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरु सुविधाभोगी भएका कारण समृद्धि आउन नसकेको बताएका छन् ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १२ मा आयोजित वडा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले जनप्रतिनिधिहरु सुविधाभोगी भएका कारण सोचे अनुसारको समृद्धि हासिल गर्न नसकिएको बताए ।
हाकिम भएर बस्ने जनप्रतिनिधी भएको ठाउँमा कुनै पनि हालतमा विकास नहुने भन्दै यदि त्यस्ता जनप्रतिनिधि भए उनिहरुको केही काम नभएको टिप्पणी गरे । सरकारले संविधान अनुसार तिनै तहलाई अधिकार दिएको भन्दै मन्त्री पण्डितले प्रतिस्पर्धा र पहलकदमी बिना विकास सम्भव नहुने ठोकुवा गरे ।
मन्त्री पण्डितले सबैभन्दा कमजोर स्थानीय तहमा अनुसारको बजेट विनियोजन गर्नुपर्ने बताए । उनले काक्रा चिरे जसरी सबैलाई बराबर भाग पुर्याएर दिने हो भने समृद्धि नआउने दाबी समेत गरे ।
जनप्रतिनिधिले पहलकदमी लिएर अघि बढे मन्त्रालयले सहयोग गर्ने उनको भनाई छ । उनले कसैलाई यो संविधान कोक्याएको होला तिनिहरुलाई कोक्याई राखोस् तर देश समृद्धिको बाटोमा अघि बढ्छ भने । मन्त्री पन्डितले अबको २० वर्षमा नेपाल विकसित राष्ट्रहरुको छेउमै पुग्ने दाबी समेत गरे ।












प्रतिक्रिया